बिमल जैरु
डडेल्धुरा, ११ कात्तिक । सरकारले हात्तीपाइले रोग नियन्त्रणमा आएको दावी गरेको छ । तर, डडेल्धुरामा एकै परिवारका ४ जना सदस्य हात्तीपाइले रोगले अहिले पनि ग्रसित बनेका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, जर्मनागाउँका बनबहादुर महतालाई हात्तीपाइले रोग भएको ३५ बर्ष भयो । उनी मात्रै होइन परिवारका एक छोरी, दुई छोरामा समेत हात्तीपाइले रोगको संक्रमण छ । घरमा कमाउने उमेरका ४ जना परिवार यसरी हात्तीपाइले रोगबाट गस्रित भएपछि अहिले यो परिवारमा ठुलो विपत्ती आईलागेको छ ।
यो परिवारले हात्तीपाइले रोग लागेपछि नजिकैको अस्पतालमा उपचार समेत गरेको थियो । तर, स्थानीय अस्पतालमा गरेको उपचारले निको नभएको बनबहादुर महताको छोरा प्रकाश महताले बताए । रोगले कहिले काँही बल्झिने गरेका कारण मर्नु र बाँच्नुको अवस्था समेत आउने गरेको पीडित महताले बताए ।
सरकारले हात्तीपाइले रोगी निशुल्क उपचार गर्ने जनाएको छ । तर, यी परिवारले उपचार नपाएका कारण आर्थिक, मानसिक समस्या संग जुधिरहेको छ । अझ, नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्रीको गाउँमा जोडिएको यो परिवारले कहि कत्तैबाट सहयोग समेत पाउन सकेका छैनन ।




