नरेन्द्र खनाल
काठमाडौं, १० कात्तिक । बडादसैं सकिएको केहि दिन पछि फेरी बजारमा तिहारको चहलपहल देखिन लागेको छ । नेपाली परम्परा अनुसार तिहारमा झिलिमिली बक्ति बालेर घर आँगन झकिझकाउ पार्ने र बिभिन्न फुलहरुको माला जोडेर घर आँगन सुसज्जीत पार्ने गरिन्छ ।
तर आजभोली परम्परागतरुपमा मनाईने तिहारको मौलिकतामा परिवर्तन आउन थालेको छ । मानिसहरुले तिहारमा प्रयोग गरिने विभिन्न परम्परागत माटोका पालामा बालिने दियो र मैनबत्तिको साटो कृतिम विद्युतिय बत्तिहरु र कृतिम फुलहरुमा रुचि देखाउन थालेपछि मौलिकतामा कमि आउन लागेको हो ।
तिहारमा खासगरि कृतिम माला र बत्तिहरु चीनबाट आउने गरेको र तिहारमा यसको अत्याधिक माग हुने गरेको व्यापारिहरुले बताएका छन् । विद्युतिय बत्तिहरु एवं बिद्युतिय पालाहरु हावाले ननिभ्ने भएकोले पनि ग्राहकहरुले परम्परागत बत्तिहरु भन्दा बिद्युतिय बत्तिहरुमा रुचि देखाएको व्यापारिहरुले भनाई रहेको छ ।
तिहारलाई मात्र लक्षिछ गरि हेर्ने हो भने नेपालमा तिहारको सिजनमा मात्र करोडौंको विद्युतिय बत्तिहरु नेपाल भित्रने व्यापारिहरु बताउँछन् । मानिहरुले सजिलो तरिकाले चाड पर्व मनाउन खोज्दा पनि मौलिकता खतरामा पर्न थालेको व्यापारिहरुको तर्क छ।
उता परम्परागत सयपत्रि र मखमलि फुलहरुलाई पनि बिभिन्न कृतिम फुलहरुले बिस्तारै बिस्थापति गर्न थालेको देखिएको छ । बजारमा फुलहरुको धेरै माग हुने तर आयातित प्राकृतिक फुलहरु महंगो पर्ने भएकोले पनि सर्वसाधारणहरुले कृतिम फुलहरु तर्फ रुचि बढाएको देखिन्छ ।




