खगेन्द्र घिमिरे
झापा, ८ कात्तिक । यस वर्षको दसैंमा इलाममा पर्यटकको घुर्इंचो लागेको छ । दसैंको घटस्थापना देखि पूर्णिमा अर्थात बुधवारसम्म मात्र करिव २० हजार आन्तरिक तथा बाह्य पर्यटकले यहाँको दृश्याअवलोकन गरेको इलाम स्थित पर्यटक प्रवर्द्धन सरोकार समितिले जनाएको छ ।
इलामलाई पहाडकी रानी समेत भनेर चिनिन्छ । पर्यटनको संख्या वढेपछि इलामका अधिकांस होटलहरु अहिले भरिभराउ छन् । यस वर्ष दसैंका लागि पुर्व आउने अधिकाशंका लागि इलाम उत्कृष्ट गन्तव्य बनेको होटल एसोेसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए ।
इलाममा कन्याम, पाथीभरा, श्रीअन्त लगायत ठाउँ उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य मानिन्छ । यी क्षेत्रहरू घुम्ने अधिकांश पर्यटकहरू इलाम बजारमा गएर बस्ने गर्दछन् । १ सय ५० वटा होटेल तथा लज रहेको इलाममा ७ सय जना दैनिक बस्न सक्ने क्षमता छ ।
यस वर्षको दसैंमा खासै पर्यटकहरूलाई गुनासो आउने अवस्था नदिएको यहाँका होटल संचालकहरु बताउँछन् । त्यसैले, इलाममा होटल मात्र हैन, होटल छेउछाउमा बस्ने साना व्यापारीले समेत राम्रो आन्दानी गरेको उनीहरुको भनाई छ ।
त्यसैगरी, इलामको श्रीअन्त, कन्याम, सन्दकरपुर लगायतका क्षेत्रहरू पनि पर्यटकका लागि अर्काे आकर्षक स्थलहरु हुन् । यो स्थानमा घुम्न आउने पर्यटकहरूका लागि खान बस्नका लागि ४३ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।
इलाममा विगतमा भन्दा यो सिजनमा धेरै पर्यटक भित्रिएको अनुमान गरिएको छ । यसैगरी पर्यटकहरूलाई आवतजावत गर्न सहज होस भन्ने उद्देश्यले इलाम बजार क्षेत्रमा प्रहरीको सहकार्यमा सूचना केन्द्र स्थापना समेत गरिएको इलाम नगरपालिकाले जनाएको छ ।
यो संगै पर्यटक तथा यात्रुहरूलाई सहज होस भन्ने उद्देश्यले भाडा दर समेत जानकारी दिंदै आएको नगरपालिकाको भनाई छ ।
प्राकृतिक, ऐतिहासिक र हावापानीका साथै, इलामको चियाबारी, कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजन अनुसार फलफुल तथा अरू बाली श्रीअन्तुको अर्काे मुख्य आकर्षण हुन् ।
अन्तबाट कञ्चनजंघा लगायत हिमशृंखला पनि नजिकै देखिन्छन् । भारतको पश्चिम बङ्गालका सयौँ पर्यटकहरु यिनै हिमशृखला हेर्न तथा घुम्न बर्षेनी यहाँ आउने गरेका छन् ।