दशैंमा चामलसमेत छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दशैंमा चामलसमेत छैन

close up of basmati rice

हुम्ला,  २७ असोज । दशैंका बेला हुम्लामा खाद्यान्न समस्या देखिएको छ  । दशैंका लागि स्थानीयलाई वितरण गर्न १ हजार ५ सयदेखि १ हजार ६ सय क्विन्टल चामल आवश्यक पर्नेमा खाद्य संस्थानको सिमकोट शाखामा ५ सय २९ क्विन्टल मात्र चामल मौज्दात छ  ।

चामल कम भएपछि जिल्ला खाद्य समितिले खाद्य संस्थानमार्फत बिक्री गर्ने सहुलियत मूल्यको चामल आधा घटाएर स्थानीयलाई बिक्री गर्ने निर्णय गरेको छ ।

‘दशैंमा बिक्री गर्न पर्याप्त चामल नभएपछि स्थानीयलाई नियमित कोटाको भन्दा आधा मूल्यमा बिक्री गर्ने निर्णय समितिले गरेको छ,’ संस्थानको सिमकोट शाखा प्रमुख रामबहादुर विष्टले भने, ‘रासन कार्डबाट प्रतिपरिवार पाँच किलोमात्र वितरण गरिनेछ ।’ उनका अनुसार दशमी अगाडि नै कम्तीमा तीन हजार क्विन्टल चामल उपलब्ध गराउन समितिले माग गरेको छ ।

खाद्यान्न उत्पादन न्यून हुने र सडक यातायातको सुविधा नभएकाले खाद्यान्न अभाव देखिएको हो । चालु आर्थिक वर्षमा हवाई ढुवानीका लागि ठेक्का हुन नसक्दा खाद्य संस्थानमा चामलको मौज्दात सकिएको हो । संस्थान केन्द्रीय कार्यालयले टेन्डर गर्दा गत वर्षको ढुवानी दरभन्दा धेरै बढी रकम दाबी गरेकाले रद्द गरेर पुन: टेन्डर गरिएको थियो । तर पुन: टेन्डरमा कसैले पनि प्रतिस्पर्धा नगरेको शाखा प्रमुख विष्टले बताए ।

‘टेन्डर नै नपरेपछि हवाई कम्पनीले ढुवानीमा चासो दिएका छैनन्,’ उनले भने । गत वर्ष नेपालगन्जबाट प्रतिकिलो एक सय १५ र सुर्खेतबाट प्रतिकिलो एक सय पाँच रुपैयाँमा ठेक्का सदर भएको थियो ।

संस्थानको शाखा कार्यालयका अनुसार ढुवानीको जिम्मा कसैले नलिएपछि हवाई कम्पनीलाई ढुवानीको दबाब परेको छैन । यहीकारण पर्याप्त आपूर्ति हुन नसकेको हो । निजी हवाई कम्पनीलाई यसअघि भारतीय तीर्थयात्री ओसारपसारमा भ्याइनभ्याइ थियो । अहिले पूर्वमा पर्यटक आउने समय भएकाले निजी हवाई कम्पनीका जहाज पूर्वतर्फ लागेकाले खाद्यान्न ढुवानी हुन सकेको छैन ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);