जथाभावी सडक खन्दा सुके मूल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जथाभावी सडक खन्दा सुके मूल

pani muhana

डडेलधुरा, २२ असोज । महाभारत पर्वत शृंखलाको मध्यभागमा रहेको भागेश्वर गाउँपालिकास्थित जनजाति बस्तीमा आउने पानीको मुहान यस पटक एक्कासि सुक्यो ।

पूरै बस्तीमा खानेपानी छैन । भागेश्वर धुरा क्षेत्रको एक दर्जन पानीका मूल सुकेपछि स्थानीयवासी खानेपानीको संकट व्यहोरिरहेका छन् । अमरगढी नगरपालिका क्षेत्रका टाँटर, लटाउली, पोखरा, झडीगाउँ र जिलोडालगायत दर्जन बढी गाउँका मूल सुकेका छन् । पुराना मूल सुकेपछि डडेलधुराको प्रसिद्ध उग्रतारा मन्दिरछेउमा ३ सय मिटरमुनिबाट पम्पिङ गरी पानी निकाल्न थालिएको छ ।

महाभारत पर्वतको मध्यभागमा रहेको सतकटा जंगलको मुख्य मूलका ३ दर्जनभन्दा बढी सहायक मूल सुकेका छन् । सतकटाकै मूलबाट सदरमुकाममा पानी ल्याइएको छ । सदरमुकाम र आसपास क्षेत्रलाई ३० वर्षसम्म सहज रूपमा पानी आपूर्ति गर्ने उद्देश्यसहित साना सहरी विकास कार्यक्रमअन्तर्गत ३० करोड लागतमा वैकल्पिक खानेपानी योजना निर्माणाधीन छ । त्यसको मुख्य स्रोत पनि सतकटा मूल हो ।

महाभारत पर्वत शृंखलाको माथिल्लो र मध्यभागबाट निर्माणाधीन दर्जनौं सडकमा प्रयोग भइरहेका हेभी इक्विपमेन्टका कारण पानीका स्रोत जमिनभित्रै हराउने क्रम बढेको हो । ‘महाभारत शृंखलामा बिना मापदण्ड निर्माण भइरहेका सयौं सडकका कारण पानीका स्रोत सुक्न थालेका हुन्,’ ३४ वर्षदेखि खानेपानी क्षेत्रमा कार्यरत वरिष्ठ इन्जिनियर परीक्षित श्रेष्ठ भन्छन्, ‘जलवायु परिवर्तनको असरसँगै मानवीय त्रुटिका कारण पानीका स्रोत समाप्त हुन थालेका छन् ।’

उनका अनुसार जंगल विनाश र महाभारत क्षेत्र अतिक्रमण पानी संकटको मुख्य कारण हो । महाभारत क्षेत्रमा हुन थालेको जथाभावी सडक निर्माणले पानीका अधिकांश मूल लोप हुन थालेको उनले बताए । ‘जलवायु अनुकूलन गर्न राज्य र गैरराज्य पक्षबाट भइरहेको ठूलो लगानी सदुपयोग हुन नसक्नु पानी संकटको अर्को कारण हो,’ उनले भने ।

हेभी इक्विपमेन्ट प्रयोगका कारण जमिनभित्रै खानेपानीका मुहानले बाटो परिवर्तन गरेको छ । श्रेष्ठका अनुसार सडक निर्माणमा प्रयोग हुने हेभी इक्विपमेन्टले ५ सय मिटर वरपर धर्तीभित्र उत्पन्न गर्ने भाइब्रेसनका कारण मूल हराउने सुक्ने र बाटो परिवर्तन गर्ने गरेका हुन् । श्रेष्ठले भने, ‘यही स्थिति रहे ५ वर्षभित्र मध्यपहाडी क्षेत्रमा पानी संकट झनै बढ्न सक्छ । विकासका नाममा दु्रत गतिमा भइरहेका सडक निर्माणका कारण उत्पन्न संकटप्रति सबैले समयमै ध्यान पुर्‍याउन आवश्यक छ ।’

गत आर्थिक वर्ष मात्र डडेलधुरा, डोटी र बैतडी तीनवटा जिल्लामा फैलिएको ९५ हजार हेक्टर क्षेत्रफलको महाभारत जंगल क्षेत्रमा १ सय ७२ भन्दा बढी सडक निर्माण सुरु गरिएको थियो । डडेलधुराका भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका, आलीताल गाउँपालिका, अजयमेरु गाउँपालिका, अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिका क्षेत्रमा रहेको महाभारत जंगल क्षेत्रबाट ७ दर्जनभन्दा बढी सडक निर्माणाधीन छन् । बैतडीको तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ, मेलौली र पाटन नगरपालिकासहित महाभारत पर्वत शृंखलामा पर्ने आधा दर्जन स्थानीय तहमा त्योभन्दा बढी सडक निर्माण भइरहेको छ । डोटीका महाभारत क्षेत्रभित्र पर्ने स्थानीय तहमा पनि दर्जनौं सडक निर्माणाधीन छन् ।

खानेपानीका मूल मात्र होइन, महाभारतको तटीय क्षेत्रमा रहेका नदीमा पनि पानीको सतह आधा घटेको छ । सयभन्दा बढी ठूला र ३ सयभन्दा बढी साना मूल मिलेर बनेको सतमुला नदीमा वर्षा सकिएसँगै पानीको सतह घटेर आधा भएको छ । माघसम्म एक्लै तर्न नसकिने सतमुला महाभारत शृंखलाबाट निस्कने प्रमुख नदी हो । महाभारत पर्वत शृंखलाबाट निस्कने अर्को प्रमुख नदी गणिका (नानीगाड)पनि वर्षात् सकिँदा नसकिँदै सुक्न थालेको छ ।

डोटीको महाभारत सिमानाबाट निस्कने र डडेलधुराको भित्री मधेसमा बग्ने रंगुन नदीमा पनि विगतभन्दा पानीको सतह घटेको छ । महाकाली जलाधार र सेती जलाधार क्षेत्रमा महाभारत पर्वतबाट बग्ने प्राय सबै नदीमा पानीको सतह घट्न थालेपछि यसले खेती प्राणालीमा पनि गम्भीर असर पुग्न सक्ने कृषि क्षेत्रका अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

नदी प्रणालीमा हरेक वर्ष बढदै जान थालेको पानी संकटले महाकाली र सेती जलाधार क्षेत्रका ठूल्ठूला फाँटमा हुने उब्जनीमा असर पर्न थालेको वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले बताए । उनले भने, ‘खानेपानीको गम्भीर संकटका कारण यसतर्फ राज्य र अन्य निकायको ध्यान जान सकेको छैन ।’
ग्रामीण क्षेत्रमा खानेपानी व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको ग्रामीण जलस्रोत परियोजनाका अधिकृत देवराज भण्डारी स्थानीय तहले समृद्धिका लागि महाभारत पर्वत शृंखला क्षेत्रभित्र गरिएको सडक निर्माणले एकै वर्षमा सयौं पानीका मूल समाप्त भएको बताए ।
उनले भने, ‘सामान्य सर्भेसमेत नगरी डोजर चालक र उपभोक्ता समितिका अध्यक्षको तजबिजमा निर्माण हुने यस्ता सडकले भविष्यमा पानी नपाएर मानवबस्ती सार्नुपर्ने गम्भीर समस्या आइलाग्ने सम्भावना बढिरहेको छ ।’आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);