मुहान जोगाउन पोखरी बनाउने अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुहान जोगाउन पोखरी बनाउने अभियान

dhara

काठमाडौं, १४ साउन । गाउँघरमा पानीका मुहान सुक्न थालेपछि पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गर्न थालिएको छ । आकाशे पानी जम्मा गर्न ती पोखरी बनाउन थालिएका हो । यसरी पोखरी निर्माण गर्न थालिएपछि मूल सुकेका धारामा पनि कलकल पानी झरेको छ ।

पानीको स्रोत बचाइराख्न अछामको चौरपाटी गाउँपालिकामा आकाशे पानी जम्मा गर्न ससाना पोखरी निर्माण अभियान सञ्चालन गरिएको छ । यहाँ बासिन्दाले तीन दिनमै एक हजार दुई सयभन्दा बढी यस्ता पोखरी बनाएका छन् ।

गाउँपालिकाका सातवटै वडाका खाली जमिनमा पानी थिग्रने खाल्डाहरू तयार गरेर पानीको स्रोत बढाउने योजनासहित ती पोखरी निर्माणमा गाउँपालिका जुटेको हो । खेती लगाउने बाहेकको जमिनमा आकाशे पानी बग्न नदिई एक ठाउँमा थिगारेर राख्न खाल्डाहरू बनाउन थालिएको छ । ती खाल्डामा पानी सङ्कलनका लागि केही मिटर परबाट कुलो बनाएर ल्याइएकोे गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनुभयो ।

गाउँपालिकामा रहेको खेतीयोग्य जमिनको सुक्खापन कम गरी उब्जनी बढाउने उद्देश्यले यस्तो पोखरीको अवधारणा ल्याइएको हो । पानीको स्रोत सुकेपछि समस्या भोगिरहेका स्थानीयवासी स्वस्फूर्त रूपमा पुनर्भरण पोखरी बनाउने अभियानमा जुट्न थालेका छन् । अध्यक्ष साउदले भन्नुभयो, “जनता स्वस्फूर्त रूपमा सामाजिक काम भन्दै पोखरी बनाउन लागेका छन् । हामीले दीर्घकालीन रूपमा जमिन सुक्खा नहोस् भन्ने उद्देश्यले रिचार्ज पोखरी बनाउन थालेका छौँ । ” गाउँका महिला, पुरुष बिनापारिश्रमिक पोखरी निर्माण अभियानमा संलग्न छन् ।

पोखरी निर्माण गरी मुहान बचाउने अभियानका लागि नीतिगत निर्णय गरेर अभियान सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले बताउनुभयो । यसअघि जिल्लामा हरेक वर्ष सरकारी र गैरसरकारी क्षेत्रबाट सिँचाइका योजनामा लाखौँ रुपियाँ खर्च हुने गरेको थियो ।
यस्ता पोखरी निर्माणले जमिन ओसिलो हुने भएकाले जलवायु परिवर्तन अनुकूलनसँगै उब्जनी वृद्धि, वनको विकास, वन्यजन्तुको संरक्षणसमेत हुने गरेको छ । रिचार्ज पोखरी निर्माणमा भएको जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको अध्यक्ष साउदको भनाइ छ ।

अनुकूलन बनाउने प्रयास अछाममा ‘पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समयानुकूलन आयोजना’ले पानीका मूल संरक्षण गरेर जलवायु परिवर्तनलाई अनुकूलन बनाउने प्रयास गरिरहेको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा सरकारले यो आयोजना सुरु गरेपछि स्थानीयवासी आआफ्नो गाउँमा आयोजना नपुगे पनि यस काममा जुटेका छन् । आयोजनाबाट यहाँ जलवायु परिवर्तनलाई अनुकूलन बनाउन ४२ वटा योजना निर्माण हुँदा दुई हजार पाँच सय परिवार लाभान्वित भएका छन् । गत दुई वर्षयता हालको मङ्गलसेन र साँफेबगर नगरपालिका, मेल्लेख, रामारोशन, चौरपाटी, बान्नीगढी, जयगढ गाउँपालिकामा आयोजनाले पानीका मुहानहरू संरक्षण गर्ने काम गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);