अकासे पानी जोहोले तेह्रथुमका किसानको फेरिएको दैनिकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अकासे पानी जोहोले तेह्रथुमका किसानको फेरिएको दैनिकी

तेह्रथुम । तेह्रथुमका किसानहरूले वर्षाको पानी जोहो गरेका छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको केही हदसम्म अभाव पूरा गरे पनि गाईबस्तु र सिँचाइका लागि भने पानी जोहो गरेका हुन् ।

वर्षायाममा परेको पानी प्लाष्टिकको पोखरीमा बनाएर जोहो गरेको पानीलाई हिउँदमा सिँचाइमा प्रयोग गरिने किसानहरूले बताएका छन् । खानेपानीकै समस्या भएका गाउँमा यतिबेला तरकाली तथा फलफूलमा सिँचाइ गर्ने गरेका छन् । 

किसानहरूले बर्खामा खेरा जाने पानी घरनजिकै पोखरी बनाएर संकलन गरी सिँचाइ गर्ने गरेका छन । स्थानीय सरकारले ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याएपछि किसानहरूलाई राहत मिलेको छथर गाउँपालिका-६ का घनश्याम ढकालले बताए । 

‘पानीको मुहान सुक्दै जाँदा खानेपानी कै समस्या थियो । तर, स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाइ गर्न ठुलो राहत मिलेको छ’, उनले भने, ‘हामीलाई खानेपानी नै समस्या थियो । तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा, तरकारी किनेरै खानु पर्थ्यो तर, हामी अहिले तरकारी बेच्न थालेका छौ ।’ 

ढकालजस्तै कृष्णकुमारी पौडेलले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाइ गर्दै आएकी छिन् । करेसाबासीमा अकबरे, आलु, प्याज, लसुनलगायतका तरकारी खेती गर्दै आएकी छिन् ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् । पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा संकलन गर्ने गरेका छन् ।

वर्षायाममा परेको पानी पोखरीमा संकलन गरी सुख्खायाममा तरकारी, फलफूल खेती तथा अन्यबालीमा सिँचाइ गर्ने गरेको छथर–६ का होमकुमारी मगरले बताइन् । सुख्खाग्रस्त क्षेत्रका किसानहरूलाई लक्षित गरी ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याइएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । 

गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषि शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरूमा पोखरी बनाइ किसानले सिँचाइ गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);