मर्स्याङ्दीको बाढीले तातोपानी कुण्ड बगाएपछि स्थानीयलाई समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मर्स्याङ्दीको बाढीले तातोपानी कुण्ड बगाएपछि स्थानीयलाई समस्या

लमजुङ । मनाङको सदरमुकाम चामेमा रहेको तातोपानी कुण्ड गत वर्षाको बाढीले बगाउँदा अहिले स्थानीयलाई समस्या भएको छ । असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीले चामेमा रहेको तातोपानी कुण्ड बगाएपछि अहिले चिसो मौसममा निकै समस्या भएको हो ।

गत असार १ गते वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढीले चामेमा रहेको तातोपानी कुण्ड पूर्ण रूपमा भत्किएको थियो । संरचनासहितको व्यवस्थित तातोपानी कुण्ड बाढीले पुरै क्षति पुर्‍याएको र अहिले अहिले चिसो बढेसँगै चामेका स्थानीयलाई निकै समस्या भएको छ ।

अत्यधिक चिसोका कारण मनाङका खोला, पोखरी तथा धाराहरूमा पानी जमेर बरफ बन्दै गर्दा प्राकृतिक रूपमै निस्किएको तातोपानीले निकै राहत मिल्दै आएको थियो । मर्स्याङ्दी नदीको किनारैमा रहेको पानीको मूलबाट छुन नसकिने तातोपानी आएसँगै स्थानीयले त्यसलाई व्यवस्थित कुण्ड बनाएर उपयोग गर्दै आएका थिए । 

चिसोका कारण पानी जमेर पिउने पानीको समेत समस्या हुने गरेको मनाङमा प्राकृतिक रूपमा निस्किएको तातोपानीले नुहाउन तथा लुगा धुनको लागि ठूलो राहत मिलेको थियो । तातोपानी कुण्ड व्यवस्थापनको क्रममा स्थानीय चामे गाउँपालिकाले २० लाखभन्दा बढी खर्च गरिसकेको थियो । पौडन मिल्ने दुई ओटा पोखरी, कपडा फेर्ने कक्ष, शौचालय, र मर्स्याङ्दीको बहाव छेक्न तार जाली लगाएको थियो । तर, अहिले नदीमा आएको बाढीका कारण सबै संरचना बगाउँदा तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।

तातोपानी कुण्ड नहुँदा नुहाउन तथा लुगा धुनका लागि पुग्ने स्थानीयसँगै विभिन्न कार्यालयका कर्मचारीहरू, सेना प्रहरी एवं स्वदेशी तथा विदेशी पर्यटक प्रभावित भएका हुन् । पौडी खेल्न मिल्ने दुई पोखरी, कपडा फेर्ने सानो कोठा र कुण्डसम्म पुग्ने बाटोसमेत बाढीले बगाएको छ ।

तातोपानी कुण्ड नहुँदा स्थानीयसँगै उपचारका निम्ति धाउने पनि प्रभावित भएका छन् । तातोपानीमा नुहाउनाले दाद, घाउ, खटिरा, चाया, डन्डिफोर जस्ता छाला सम्बन्धी रोग, बाथ, हाडजोर्नी, नशा सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वासका साथ वर्षेनी बाहिरी जिल्लाबाट पनि चामे पुग्ने गरेका थिए । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पाहुनासमेत तातोपानी कुण्डमा नुहाएर मज्जा लिने गरेकोमा अहिले भने सबै प्रभावित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);