ग्यालरीमा मगर नृत्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ग्यालरीमा मगर नृत्य

magar nirtaya

काठमाडौँ, २१ असोज । राजधानीमा जन्मे हुर्केका चित्रकार सुनील रञ्जितले धौलागिरि क्षेत्रमा प्रचलित पुन मगर समुदायको लोकनृत्य आँखाभरि सजाएका छन् ।

उनले बनाएका चित्रहरूमा पुन मगर समुदायका पुख्र्यौली नृत्यको प्रत्यक्ष महसुस गर्न सकिन्छ । ‘यी गिदाङ्गे हुन्,’ चित्रको पछिल्लो भागमा किरमिरे छाया औंल्याउँदै सुनीलले भने, ‘मगर भाषामा कोरस गाउनेलाई गिदाङ्गे भन्दा रहेछन् ।’ झन्डै एक वर्षअघि सुनील पोखरा घुम्न गएका थिए । त्यति बेला उनले राष्ट्रियसभा गृहमा पुन मगर सुमदायले देखाएको पुख्र्यौली नृत्य हेर्ने मौका पाए । अमूर्त कला त सबैले बनाउँछन् ।
सुनीलका अनुसार त्यसभित्र आत्मीयता अनुभूति गराउन निकै कठिन हुन्छ । आफ्नो ३५ वर्षको चित्रकला अनुभवमा उनलाई यस्तै लागिरहेको थियो । पुन मगर समुदायको पुख्र्यौली नृत्य उनको लागि रोचक र महत्त्वपूर्ण बनेछ । त्यसपछि चार महिना लगाएर उनले थुप्रै पुर्खाली नृत्यका आकृतिलाई डिस्ट्रोयड फर्ममा उतारे । उनका ती चित्रहरूको कालिकास्थानस्थित सर्वनाम ग्यालरीमा ‘पुख्र्यौली नृत्य’ शीर्षकमा प्रर्दशनी भइरहेको छ ।
बिहीबार उनको चित्रकला प्रदर्शनी उद्घाटन हुदै गर्दा सँगै म्याग्दीमा प्रचलित पुन समुदायको पुख्र्यौली नाचसमेत प्रत्यक्ष देखाइएको थियो । नृत्य हेर्दै जाँदा क्यानभासमा दुरुस्तै कपी भएजस्तो अनुभूति हुन्थ्यो । ‘चित्रकलामा गीतको भाव उतार्नचाहिँ सकिनँ,’ चित्रकार अनिलले भने, ‘अरू त सबै समेटेको छु ।’ तैलीय रंगको माध्यममा बनेका १९ चित्रहरू ग्यालरीमा प्रदर्शनरत छन् ।

सुनीलले प्राय नृत्य फर्म र मुभमेन्ट केन्द्रित भएर चित्र कोरेका छन् । आकृतिहरू हेर्दा हेर्दै नाचिरहेको महसुस हुन्छ । त्यस्तै, पुन मगर समुदायले लगाउने भेषभूषा र पहिरनको रंगमा सुनीलले कलाको संयोजन पस्किने जर्मको गरेका छन् । रातो, सेतो र कालो रंगको प्रभाव बढी देखिन्छ । घलेक, कछाड र गुन्यूचोली पहिरनका आकृतिहरू सांस्कृतिक प्रभावका छन् ।

रमाइलो के भने चित्रमा बूढाबूढी, तन्नेरीदेखि किशोरकिशोरीको उमेर अनुसारको हाउभाउ उनले प्रस्टसँग उतारेका छन् । प्रत्यक्ष अनुभूति गरेर चित्र बनाउँदा चित्रमा जीवन्तता उत्रिने सुनीललेको अनुभव छ । विभिन्न समुदायको अमूर्त सम्पदा हराउँदै गएकोमा उनलाई उनको चिन्ता पनि छ । राजधानी केन्द्रित संस्कृतिको धेरै प्रचारप्रसार भए पनि देशका अन्य समुदायको सांस्कृतिक सौन्दर्य हराउँदै गएकोप्रति सुनीलको चिन्ता छ ।
आधुनिक शैलीमा परम्परागत र मौलिक चित्र कोर्नुलाई उनले अबको ध्येय नै बनाएका छन् । रातभरि नाचेर रमाउने पुन समुदायको जीवन जिउने शैलीसमेत उनको क्यानभासमा झल्किन्छ । लेखक तथा अनुसन्धाता प्रतिभा पुनका अनुसार आदिवासी जनजातिमध्ये मगर जातिको संख्या उल्लेख्य छ ।

भाषिक दृष्टिले काइके, पाङ र ढुट गरी तीनवटा भाषाको वक्ता मगर समुदायमा भेटिने उनले बताइन् । मुख्य थरहरूमा थापा, पुन, राना, घर्ती, बूढा, रोका, आले पर्दछन् । ‘मगर समुदायमा विभिन्न लोकनाच प्रचलित छन्,’ प्रतिभाले भनिन्, ‘सोरसोती उतार्ने नाच, हाई हाल्ने नाच, सोरठीलगायत थुप्रै । यी सबै पुख्र्यौली नाच हुन् ।’ सुनीलको चित्रमा मगर समुदायको अमूर्त संस्कृति संरक्षित भएको प्रतिभाले बताइन् । सुनीलको ध्येय पनि यही थियो ।
उनी विभिन्न समुदायका कला र जीवन शैली रंगमार्फत क्यानभासमा सजाउन आधुनिक चित्रकारहरू लाग्नुपर्ने बताउँछन् । ‘चित्रको विषयको खोजी गर्न धेरै टाढा जानै पर्दैन,’ उनले भने, ‘हाम्रै जीवन र संस्कृतिभित्र पसे हुन्छ ।’ लोक वार्ता परिषद् नेपालले गरेको प्रदर्शनी सोमबारसम्म जारी रहनेछ । प्रदर्शनीमा ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मका कलाकृतिहरू छन् । प्रदर्शनीको उद्घाटन समारोहमा प्रतिभा पुनद्वारा लिखित ‘धौलागिरि क्षेत्रको अमूर्त लोक संस्कृति झाँक्री’ र मीन श्रीश मगरद्वारा लिखित ‘मगर जातिको इतिहास’ पुस्तक सार्वजनिकसमेत गरिएको थियो । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);