संस्कृति अनेक, भावना एक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संस्कृति अनेक, भावना एक

tharuandmagarpic

काठमाडौं, ०२ माघ । टुँडिखेलको पुर्वी कुनामा लुंगी, चोलो, घलेक लगाएकी धनकुटाकी अपेक्षा मगर नौगेडी र शिरबन्दीमा चिटिक्क थिइन्। पश्चिम कुनामा रहेकी बर्दियाकी मनीषा चौधरीचाहिँ मंगौरी, झुम्का र लेहेंगामा सजिएकी थिइन्। माघी र माघे संक्रान्ति मनाउन बुधबार टुँडिखेलमा भेला भएका उनीहरू जब त्रिपाल पार गर्दै एक अर्कासँग भेट गरे तब वातावरण निकै रमाइलो बन्यो।

सामान्य भलाकुसारीपछि एकअर्कासँग जोडिएर तस्बिर खिचाए। फरक भूगोल र फरक संस्कृतिका उनीहरूका मुस्कान, सौहर्दता र अनुहार उस्तै देखिए। ‘उहाँ (अपेक्षा) र हाम्रो अनुहार निकै मिल्दो रहेछ,’ मनीषाले भनिन्, ‘लेहंगा लगाउने हो भने उहाँलाई पनि थरूनी नै भन्छन्।’ साथीहरूसँग सामूहिक तस्बिर खिचाएकी मनीषाले भन्दै गर्दा अपेक्षा र उनीसँगै आएका दौंतरीहरू निकै मुस्कुराए।

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारू र मगर समुदायले राजधानीको टुँडिखेलको दुई छेउमा बसेर आ–आफ्नो पर्व मनाउँदै गर्दा सबैले निकै रमाइलो मानेको देखियो। परम्परागत पोसाकमा सजिएर आएका उनीहरू र जात्रा हेर्न आएका राजधानीमा विभिन्न जातजाति थारू र मगर समुदायका कार्यक्रमस्थलमा पुगेर तस्बिर खिचाउँदा टुँडिखेल सिंगो नेपालजस्तो देखिन्थ्यो।

धनुबाण र कन्तुलो बोकेर आएका रुकुमका मनबहादुर पुन १७ वर्षदेखि राजधानीमा बस्दै आएका छन्। बेलाबखत चाड मान्न गाउँ जाने गरेका उनी राजधानीमा पर्व मनाउनुको पनि बेग्लै मज्जा रहेको सुनाउँछन्। ‘गाउँको जस्तो मौलिक त छैन,’ उनले भने, ‘तर मुलुकका विभिन्न ठाउँबाट आएका मानिसहरूले पर्वमा सहभागिता जनाउँदा खुसी लाग्छ।’

यस्तै विचार राख्छन् बर्दियाका रोहन चौधरी पनि। गाउँको चाडमा आफ्नै खुस्बु रहेको बताउने उनी यहाँ आउँदा भने सबैतिरको चलन देख्न पाइने सुनाए। ‘पश्चिम र पूर्वका थारूले पर्व मनाउने तरिका निकै भिन्न छ,’ उनले भने, ‘त्यसमा पनि आज त मगर समुदायको पर्व पनि नियाल्ने अवसर मिल्यो।’ थारू समुदायको बसोबास रहेको तराईका विभिन्न जिल्लाबाट उनीहरूका परिकारसहितको स्टल थिए। घुँगी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार थिए। परम्परागत पोसाकमा सजिएका थारू महिलाहरूले थारू परिकार बेच्दै गरेको दृश्य निकै रमाइलो थियो।

मगर युवतीहरू जानीनजानी घुँगी खाँदै थिए। चौधरी युवतीहरू रमाउँदै मगर समुदायको स्टलमा पुगेर सेल र अचार खाए। ‘दुवैतिर उत्तिकै रमाइलो छ,’ करुणा चौधरीले भनिन्, ‘माघी र माघे संक्रान्ति दुवै मनाएको जस्तो भइरहेको छ।’

उपेन्द्र लामिछानेले नागरिक दैनिकमा लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);