काठमाडौं, १७ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएका छन् । मन्त्री पोखरेलले स्रोत जुटाएर विद्यालय कर्मचारी र राहत शिक्षकहरुको माग पनि सम्बोधन गर्ने घोषणा गरे । २५ औं विश्व शिक्षक दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अस्थायी शिक्षकहरुको समस्या समाधान लागि सरकारले शिक्षा सेवा आयोगको कार्ययोजना अनुसार काम गरिरहेको बताए ।
अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले आन्तरिक तथा खुला परीक्षा लिएको मन्त्री पोखरेलको भनाई छ ।
मन्त्री पोखरेलले २ सय ५३ वटा सामूदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षा संचालनका लागि अनूमति दिइएको बताए । प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेकै दिन सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका थिए ।
सोही घोषणालाई कार्यान्वयन गर्न सरकारले २ सय ५३ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापनाका लागि अनुमति दिने काम गरेको मन्त्री पोखरेलले स्पष्ट पारे ।