जोखिममा परिवार टुटेका बालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जोखिममा परिवार टुटेका बालिका

rape

काठमाडौं, १३ असोज । कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार।

दुवै परिवारका आमा पतिबाट अलग्गिएको अवस्था थियो । दुवैका आमाले दुःखजिलो गरी सन्तान पालनपोषण गर्दै आएका थिए। कास्कीमा बलात्कृत बालिका आमा र दिदीसँगै मामाघर बस्दै आएकी थिइन् । बाबुले अर्की श्रीमती ल्याएपछि उनकी आमा माइत बसेकी थिइन्। कञ्चनपुरमा हत्या गरिएकी निर्मलाका बाबु पनि अर्कै पत्नी ल्याएर अलग्गिएर बसेका थिए । पहिलो पत्नीसँग सम्बन्ध बिग्रिएपछि अर्की पत्नीका साथ भारत बस्दै आएका उनी घटनापछि मात्र नेपाल फर्किएका थिए । यी दुई घटनाले संकटग्रस्त र टुटेको परिवारका बालबालिका तथा महिला सबैभन्दा बढी बलात्कारको जोखिममा रहेको देखाएको छ।

पीडकले संकटमा परेका र कमजोर परिवारका कलिला बालिका र किशोरीलाई बलात्कारको निशाना बनाएको पाइन्छ। समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. ज्ञानु क्षेत्री अपराधीले कमजोरमाथि निशाना लगाइरहने हुँदा पारिवारिक एकता कमजोर भएकाहरु बलात्कारको जोखिममा पर्ने सम्भावना बढी हुने तर्क गर्छिन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री सुरक्षाको अनौपचारिक एकाइका रुपमा रहेका परिवार, अभिभावक, समाजमा संकटमा परेकाहरु बलात्कारको जोखिममा परेको बताउँछन्। उनी भन्छन्, ‘अपराधीले जहिले पनि कमजोरमाथि निशाना लगाउँछ ।’

आर्थिक वर्ष २०७४/७५ मा भएका १४ सय ८० बलात्कार घटनामा आधाभन्दा बढी पीडित १८ वर्षमुनिका बालिका रहेको प्रहरी तथ्यांक छ। तथ्यांकले १८ वर्षमाथिका महिला पनि बढी जोखिममा रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार बलात्कारपछि हत्या भएका घटनामा पीडित र पीडकबीच चिनजान भएको देखिन्छ। घटना बाहिर आई कारबाहीको भागिदार बन्नुपर्ने अवस्थाबाट जोगिन पीडकले हत्या गरेको तथ्य छ।

बलात्कृत हुनेमा अधिकांश अविवाहित रहेको तथ्यले देखाउँछ। बलात्कारीले कम उमेरकालाई बढी निसाना बनाएका छन्। कम उमेरका बालिकालाई चाँडै लोभलालचमा पार्न सकिने भएकाले पनि बलात्कारीले उनीहरूलाई निसाना बनाएका हुन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);