काठमाडौं, ११ असोज । आगामी शनिबारदेखि शुरु हुने शहिद स्मारक ए डिभिजन लिग फुटबल बंगबन्धु गोल्डकपका कारण सुरुवाती दुई दिनपछि नै स्थगित हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको लिग कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । असोज १३ गते त्रिभुवन आर्मी र एनआरटी बीचको खेल पुर्व तालिका अनुसार हुनेछ ।
त्यसपछि दोस्रो दिन पनि यसअघि भनिएको संकटा र सरस्वती बीच हुनेछ । तर त्यसपछि हुने लिगका खेलहरु अर्को मिति तय नहुन्जेलका लागि स्थगित हुने भएको छ ।
लिगको उद्घाटन कार्यक्रममा विभिन्न कलाकारहरुको साथमा गर्ने योजना एन्फाको छ । तर सुरुवाती दुई खेलपछि अरु खेलहरुको बंगबन्धुमा नेपालको प्रदर्शनका आधारमा तालिका तयार पारिनेछ ।
५० लाख रुपैँया पुरस्कार राशि रहेको ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदैछन् । उनीहरुले खेलाडीको सूची पनि एन्फाको ए डिभिजन लिग कमिटिमा बुझाई सकेका छन् ।
लिग एन्फाको सातदोबाटो र हलचोक मैदानमा आयोजना हुन लागेका खेलहरु मध्य पहिलो र दोस्रो दिनका खेल सातदोबाटोमा आयोजना हुने छ । स्थगनपछि खुल्ने लिगका खेलहरु दुवै ठाउँमा आयोजना हुने जनाइएको छ ।
ए डिभिजन लिगको उद्घाटनका लागि फिफाका प्रतिनिधि तथा साउथ एशियाका फिफा रिजनल डेभलपमेन्ट अफिसर प्रिन्स रफर आउने छन् । प्रतियोगिताको उपविजेताले ३५ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख पाउनेछन् ।
यसपटकको लिगमा छैटौं हुनेसम्मलाई पुरस्कार राखिएको छ । यस्तै हरेक खेल जित्ने टिमले छुट्टै ५० हजार रुपैयाँ पाउँने छन् । विधागत रुपमा उत्कृष्ट हुने चार खेलाडी र एक प्रशिक्षकलाई एक एक थान मोटरसाइकल पुरस्कार स्वरुप दिइनेछ।