धनगढी, १० असोज । प्रदेश नम्बर–७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीस्थित प्रदेश संसदको कार्यालय बाहिर सर्वसाधरणले विरोध प्रदर्शन गरेका छन् । नागरिक समाजको अगुवाइमा प्रदेश संसद भवन अगाडी सर्वसाधरणले बुधवार टायर बालेर प्रदर्शन गरेका हुन्।
सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरेपछि सर्वसाधरणहरु विरोधमा उत्रिएका हुन् ।
धनगढीका मेयर नृपबहादुर वडकाको नेतृत्वमा उत्रिएको सहभागिहरुले ‘प्रदेश–७ को राजधानी धनगढी कायम गर,’ ‘गोदावरी मान्दैनौँ,’ ‘जंगल फडानी गरेर राजधानी बनाउन पाइँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
उनीहरुले संसदीय समितिले गरेको सिफारिस मान्न नसकिने भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । यसरी सर्वसाधरणले विरोध प्रदर्शन गरिरहँदा भित्र संसदमा भने प्रदेश सातको राजधानी र नामबारेमा छलफल भइरहेको थियो ।
प्रदेश सातको नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालिन संरचनालाई नै निरन्तरता दिन खोजेको प्रदर्शनमा सहभागीहरुको प्रतिक्रिया रहेको थियो ।




