काठमाडौं, ९ असोज । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समलिङ्गीको आधारभुत मानवअधिकार प्रत्याभुतिमा सरकार दृढ रहेको बताएका छन् ।
ब्लु डायमण्ड सोसाईटीले मंगलबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले लोकतन्त्र आईसकेकाले अब कसैले पनि अधिकारका लागि रगत बनाउनुपर्ने अवस्था नरहेको भन्दै समलिङ्गीको आधारभुत मानवअधिकार प्रत्याभुतिमा सरकार दृढ रहेको बताए ।
उनले समलिङ्गीको विवाहको अधिकारको विषयमा पनि सरकार गम्भीर रहेको बताए । उनले तेश्रो लिङ्गीको सम्मान र पहिचानको हक स्थापित भईसकेकाले पहिचानको आधारमा नागरिकता दिने कार्यलाई अझै व्यवस्थित बनाउन सरकारले नागरिकता सम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढाएको बताए ।
मन्त्री ढकालले संविधानमा उल्लेख भएका मौलिक हक यौनिक अल्पसंङख्यक समेत सबैको हकमा समान रुपले लागु हुने भएकाले सबै मौलिक हक उपभोग गर्ने अवस्था श्रृजना भएको बताए ।
कार्यक्रममा यौनिक अल्पसंख्यकहरुले संविधानमा लेखिएको कुरा आफुहरुको हकमा कार्यान्वयन नभएको तथा यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायको कानुनी अधिकार खोसेर राज्यले आफुहरुमाथि राष्ट्रिय अन्याय गरेको गुनासो गरेका थिए ।




