‘टेस्टी’ अरिंगाल | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

‘टेस्टी’ अरिंगाल

TESTY_ARINGAL

गोरखा, ९ असोज । प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ। अहिले प्रतिमाना एक हजार पाँच सय रुपैयाँ अर्थात् प्लेटको पाँच सयसम्म लिएर होटल रेस्टुरेन्टहरुले अरिंगाल व्यापार गरिरहेका छन्। व्यापार यतिसम्म बढेको छ कि भनेको जति अरिंगाल खान पनि पाइँदैन।

प्रधानमन्त्रीको वक्तव्यपछि एकाएक चर्चा पाएको अरिंगालको गोरखा र आसपासमा भने साउन लाग्दादेखि नै व्यापार चुलिइसकेको थियो, चर्चा बढिसकेको थियो । हिजोआज त अभाव हुन थालेको छ। निकै ‘टेस्टी’ मनेर अरिंगाल खाने यहाँ ठूलै जमात छन्। लार्भाको व्यापार ह्वातै बढेको छ। तनहुँको आँबुखैरेनी, नयाँ पुल, पृथ्वी राजमार्गछेउछाउका केही रेस्टुरेन्ट, मनकामना, गोरखा सदरमुकामआसपासमा अहिले अरिंगाल खोज्ने ग्राहक बाक्लै भेटिन्छन्। अरिंगालको गोलो पोल्ने, त्यहाँ रहेको लार्भा र अरिंगाललाई झिकेर ‘फ्राई’ गरेर खाने गरिन्छ। यसलाई पारखीले ‘चिज’ को रुपमा लिन्छन् । सहजै सिकार गर्न नसकने भएकाले यो सीमित होटलमा मात्रै पाइन्छ।

प्रधानमन्त्रीको वक्तव्यपछि एकाएक चर्चा पाएको अरिंगालको गोरखा र आसपासमा भने साउन लाग्दादेखि नै व्यापार चुलिइसकेको थियो, चर्चा बढिसकेको थियो। हिजोआज त अभाव हुन थालेको छ। आबुखैरेनीको मनकामना रेस्टुुरेन्ट एन्ड खाजा घरका सञ्चालक राजकु्मार श्रेष्ठ भन्छन्, ‘दैनिक पाँचसात माना अरिंगाल बिक्री हुन्छ । यो वर्ष अरिंगाल पहिलेजस्तो आएन। जति राखे पनि दिनमै सकिन्छ ।’ अरिंगाल गत वर्षभन्दा प्लेटमा एक सय रुपैयाँ महँगो भएको छ। अभाव भएपछि अहिले श्रेष्ठले रेस्टुरेन्टमा बनिबनाउ परिकार खानमात्रै दिन्छन्, ठुलो परिमाणमा बिक्री गर्दैनन् । उनका अनुसार अरिंगाल सिजनमा मात्रै हुने भएकाले जति भए पनि बिक्री हुन्छ । उच्चपदस्थ कर्मचारीदेखि धनाढ्य यसका पारखी हुन् । अझै युवा पुस्तामा अरिंगालको ‘टेस्ट’ ले राम्रो चर्चा र बजार लिएको श्रेष्ठको अनुभव छ।

साउनदेखि कात्तिक–मंसिरसम्म अरिंगालको सिजन मानिन्छ । जंगलमा, घरको गारोमा अरिंगालले गोलो बनाउँछ। सहिद लखन गाउँपालिका २ खाल्डेपानीका निलबहादुर थापाले अरिंगाल पालेर गुजारा चलाउँदै आएका छन् । आफूलाई निकै मिठो लाग्ने भएपछि उनी अरिंगालको गोलो खोज्दै जंगल चहार्थे । अरिंगालको गोलो सानो हुँदैमा उनले हाँगा काटेर घरनजिकैको अन्य रुखमा बाँधेर राख्न थाले। गोलो ठूलो हुँदै गएपछि उनले थप्दै गए । उनले अहिले पनि पाँचवटा गोला हुर्काएका छन् । एउटा गोलाबाट दुईदेखि तीन पाथी अरिंगाल जम्मा हुन्छ। उनले गत वर्ष एउटा गोलाबाट २९ माना अरिंगाल निकालेका थिए । उनी प्रतिमाना अरिंगाल आठ सय रुपैयाँमा बिक्री गर्छन्। ‘खेती किसानी गर्ने हो, अरिंगाल जति भए पनि बेच्न गाह्रो छैन’, उनले भने ‘गोलभेडा बेच्न गाह्रो छ, अरिंगाल पुर्याउन सकेको छैन।’

अरिंगालको माग धेरै ठाउँबाट आउने गरेको तर पुर्याउन नसकेको उनले बताए। जंगलमा गएर गोलो खोजेर ल्याउन भने निकै गाह्रो छ। ‘ठूलो गोलो ल्याउन सकिँदैन। सानो गोलो काटेर ल्याउन सजिलो हुन्छ।’ कयौंपटक अरिंगालको टोकाइ खेपेका उनलाई अहिले कसरी राम्रोसँग पाल्ने होला भन्ने तरिका चाहिएको छ । सिकाउने भने कोही छैन किनकि यसको व्यावसायिक पालन सुरु भएकै छैन। पाल्ने प्रविधिबारे उनी अनविज्ञ छन् । मानिस, पशुपन्छीलाई पनि आक्रमण गर्ने भएकाले अरिंगाल पाल्न सहज नभएको थापा बताउँछन्। धेरै अरिंगालले एकैपटक टोक्यो भने ज्यानै जानेसम्मको खतरा हुन्छ। हुर्किसकेको माउभन्दा लार्भा स्वादिलो हुने अरिंगालका पारखी गोरखाका शरण श्रेष्ठ बताउँछन्। अरिंगाल कालो र रातो दुई किसिमको हुन्छ। कालो रातोको तुलनामा मानामा एक सय रुपैयाँ महँगो पर्छ। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

ताजा समाचार