एजेन्सी, ३ असोज । उत्तरकोरिया परमाणु कार्यक्रमलाई स्थगित गर्दै मिसाइल इंजिन परिक्षण साइड र प्रक्षेपण केन्द्र स्थायी रुपबाट बन्द गर्न सहमत भएको छ । दक्षिणकोरियाका राष्ट्रपति र उत्तरकोरियाका नेताबीच छलफल भएपछि सो सहमति जुटेको हो । यसबाट अमेरिका र उत्तरकोरियाबीच पुनः वार्ताको ढोका खुल्ला हुने सम्भावना बढेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका नेता किमजोङ उनबीच परमाणु निशस्त्रिकरणको बारेमा प्योङयाङमा भेटवार्ता भएपछि अन्तर्राष्ट्रिय विशेषज्ञको उपस्थितिमा प्रमुख मिसाइल परिक्षण केन्द्र र प्रक्षेपण स्थल स्थायी रुपबाट बन्द गर्न किम सहमत भएका छन् ।
उत्तरकोरियाले अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र विकशित गरेपछि वासिंगटनले उत्तर कोरियालाई पुर्ण रुपमा परमाणु अस्त्र निशस्त्रीकरणको लागी दवाव दिँदै आएको छ ।
उत्तरकोरियाले भने अमेरिकी नीतिमा पुरावलोकन खोजेको छ । अमेरिकी दवाव पछि दक्षिण कोरियाले अमेरिका र उत्तरकोरियाबीच मध्यस्थकर्ताको भुमिका निर्वाह गर्यो । परिणाम स्वरुप गत १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमजोङ उनबीच सिङगापुरमा वार्ता भएको थियो ।
सन् १९५० को दशकमा कोरियाली युद्ध चर्किए पछि सन् १९५३ मा उत्तर र दक्षिण कोरियाबीच हतियार बिसाउने सहमति भयो । तर औपचारिक रुपमा सो युद्ध सकिएको घोषणा नभएपछि उत्तर कोरिया रुष्ट बनेको छ ।
उत्तर र दक्षिण कोरियाले केसोंग औद्योगिक परिसर र कुमगांम पर्यटन परियोजनालाई सामान्य बनाउन पनि सहमति जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाका नेता किमलाई यो वर्षको समाप्ति भन्दा पहिले दक्षिण कोरियाको यात्रा गर्न आमन्त्रण गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति ३ दिने भ्रमणका लागि मंगलबार उत्तर कोरिया पुग्दा उनको भव्य स्वागत गरिएको थियो ।




