बेनी–जोमसोम सडक छियाछिया | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

बेनी–जोमसोम सडक छियाछिया

Beni_Jomsom_Road

म्याग्दी, ३० भदौ । हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ। पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एकसाता लाग्ने सडक आयोजनाले जनाएको छ ।

विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँठाउँमा भीषण पहिरो गएको छ। सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभीरमा खसेको छ। काभ्रेभीरमा बर्सेनि पहिरो जाने गरेको छ। बेनी–जोमसोम खण्डमा पर्ने काभ्रेभीर हिमालपारिको जिल्ला मुस्ताङका लागि चुनौती बन्दै गएको छ। त्यसबाहेक सडकका ठाउँठाउँमा रहेका पुलसम्मको एप्रोच(पुल अड्ने संरचना वा ठाउँ) नै पहिरोले बगाएको छ।

बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार यसपटक कालिगण्डकी नदी उर्लेर आउँदा बेनी–जोमसोम खण्ड छियाछिया परेको छ। ‘अहिलेसम्मकै बढी पानी परेको अनुमान छ । बेनी–जोमसोम खण्ड पूरै अस्तव्यस्त छ,’ उनले भने, ‘ठाउँठाउँमा भीषण पहिरो खसेको छ। कालिगण्डकी नदीको कटान उत्तिकै छ।’ उनका अनुसार माथिल्लो भेगमा यसपालि अचाक्ली पानी परेको र त्यसले नदीमा बहाव बढेको थियो। त्यही बहावले कटान गर्दै जाँदा सडक खसेको उनले बताए।

सुवेदीका अनुसार काभ्रेभीरको पहिरो पन्छाउनमात्र कम्तीमा ५ दिन लाग्छ। अहिले पनि बेनी–जोमसोम खण्डमा ४–५ ठाउँको पहिरो पन्छाउन सकिएको छैन । ‘अगाडि पहिरो पन्छाउँदै गयो, पछाडि उस्तै भीषण पहिरो खस्ने गरेको छ,’ उनले भने, ‘यसले सडक सुचारु गर्न समस्या भएको छ।’ आयोजनाले बेनी–जोमसोम (७६ किमि) र जोमसोम–कोरला (११० किमि) लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ। त्यसअनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्रे हुनेछ भने जोमसोम–कोरला खण्डको स्तरोन्नति हुनेछ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार