हरेकपटक नयाँ सरकार गठन हुँदा आफू अनुकूल मन्त्रालय र मातहतका निकाय फुटाउने र जुटाउने प्रवृत्तिको निशानामा जल तथा मौसम विज्ञान विभाग पर्ने गरेको छ ।
लामो समय जलस्रोत मन्त्रालयमा समेटिएको विभाग कहिले विज्ञान, कहिले वातावरण मन्त्रालय हुँदै हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाभिएको छ । गत फागुन दोस्रो सातादेखि विभाग ऊर्जा मन्त्रालयमा गाभिएको हो । अधिकांश हवाई दुर्घटनाको कारण मौसम र मौसमजन्य सूचनासँग जोडिन्छ । मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषणका लागि कार्यक्षेत्र विभागलाई तोकिएको छ ।
यो विषयसँग कुनै तालमेल नहुने ऊर्जा मन्त्रालय मातहत विभाग गाभिएपछि सो निकायका कर्मचारी अन्योलमा परेका छन् । तर विभागको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन कुन मन्त्रालय मातहत समेट्ने भन्ने टुङ्गो नहुँदा व्यावहारिक कठिनाइ थपिएको छ ।
विभाग अझै कुन मन्त्रालयमा गाभिने हो, कार्यक्षेत्र के कस्तो तोकिने हो भन्नेमा अन्योल रही रहँदा कामकारबाही प्रभावित हुने विभागका अधिकारीहरु बताउँछन् ।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।