काठमाडौं, ३० भदौ । क्षेत्रीय पार्टीका रूपमा संघीय फोरम र राजपाको इतिहास लामो छैन। मधेसको उत्पीडन र क्षेत्रीयताको नारासहित यी दुई पार्टी राजनीतिमा उदाएको करिब १० वर्ष भएको छ। पार्टीका रूपमा फोरम राजपाभन्दा ९ वर्ष जेठो छ।
२०६२-६३ मा जारी अन्तरिम संविधानमा असन्तुष्टि जनाउँदै सुरु भएको मधेस आन्दोलनपछि फोरमको उदय भएको हो। पहिले एनजीओ रहेको फोरम मधेस आन्दोलनपछि मात्र राजनीतिक दलमा परिणत भएको हो। अर्काेतर्फ पुराना पार्टीमा क्रियाशील नेताहरूले मधेसकेन्द्रित तमलोपाको नाममा छुट्टै राजनीतिक दल गठन गरेका थिए। तमलोपासहित मधेसकै पुरानो दल सद्भावनालगायत ६ पार्टी मिलेर गतवर्ष मात्र राजपाको गठन भएको थियो।
फोरम-राजपाले संविधानप्रति विमति जनाउँदै ३ वर्षयता यी दुई पार्टीले सहकार्य गरिरहेका थिए। संविधानविरोधी ६ महिने मधेस आन्दोलनमा दुवैले संयुक्त नेतृत्व गरेका थिए। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि दुवैले सहकार्य गरेका थिए।
तर यतिबेला दुवै पार्टीबीच पहिलेजस्तो सम्बन्ध छैन, चिसिँदै गएको छ। दुवै पार्टीका नेताले सम्बन्ध टुटिसकेको औपचारिक घोषणा नगरे पनि पछिल्ला दिन दुवैबीच सहकार्य नभएको मात्र होइन, वैचारिक मतभेदसमेत देखिन थालेको छ। अर्थात् दुवै टाढिँदै छन्।
प्रदेश २ मा राजपा-फोरमको संयुक्त सरकार छ। सरकार गठन भएको ६ महिना नाघिसक्दा पनि दुवै पार्टीका शीर्ष नेताहरू बसेर सरकारको समीक्षा गरेका छैनन्। संयुक्त प्रदेश सरकार गठन गरेका दुवै पार्टीको संघीय सरकारप्रतिको दृष्टिकोणसमेत फरकफरक छ। दुवै पार्टीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि राजपा सरकारमा गएको छैन।
संघमा फोरम एक्लै ओली नेतृत्वको सरकारमा सहभागी छ। राजपा अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने दोधारमा छ। मधेसकेन्द्रित फोरम र राजपा एकअर्काबाट टाढिँदै जान थालेको हो ? आशंका उत्पन्न भएको छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




