काठमाडौं, २६ भदौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको सुदृढिकरणमा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्व राष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई लागू गर्न सबैलाई आवश्यक सुझाव दिने भावी योजना पनि सार्वजनिक गरे ।
मंगलबार काठमाडौंमा आयोजित बालबालिकासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मधेशलाई पहाड र हिमालसँग जोडेर राष्ट्रिय एकता कायम राख्न पनि आफू समर्पित हुने बताए ।
कार्यक्रममा बालबालिकाहरुले तपाईको भावी योजना के छ भनि प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै पूर्व राष्ट्रपति यादवले राष्ट्रिय एकतामा जोड दिएर राष्ट्रको हितमा लागि पर्ने बताएका थिए । उनले सभ्य समाज निर्माणमा पनि आफूले आवश्यक अनुभव आदान प्रदान गर्न चाहेको स्पष्ट पारे ।
पूर्व राष्ट्रपति यादवले बालबालिकाहरुलाई राम्रो शिक्षा लिएर इमान्दार नागरिक बन्न पनि आग्रह गरेका छन् । राम्रो शिक्षा सहितको इमान्दार र चरित्रवान नागरिक बने राष्ट्रले आफैं त्यस्ता नागरिकको खोजी गर्नेतर्फ पनि पूर्व राष्ट्रपति यादवले बालबालिकाको ध्यानाकर्षण गराए । कार्यक्रममा पूर्व राष्ट्रपति यादवले आफूलाई पारिवारिक परिवेशले राजनीतिक क्षेत्रमा लाग्न अभिप्रेरित गरेको बताए ।