काठमाडौं, १९ भदौ । एशिया कप छनोट अन्तर्गत नेपालले हङकङलाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी एशिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालले टस जितेर हङकङ विरुद्ध पहिला ब्याटिङ गरेको थियो ।
नेपाल ३७ ओभर ५ बलमा ९५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो । ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए ।
त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो ।
तर लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्यो । निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन ।
आठौ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी विच ३४ रनको साझेदारीले नेपाललाई केहि राहत भएको थियो । तर नेपालको स्कोर ९२ रन हुँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले अविजीत १५ रन थपे ।




