जंगलतिर इ–रिक्सा | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

जंगलतिर इ–रिक्सा

e riksha

रौतहट, १८ भदौ । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–लमाहा खण्डमा हरेक बिहान दाउरा बोकेर फर्किएका इ–रिक्साको लाम लाग्छ । दिनभर यात्रु बोक्दाभन्दा धेरै कमाइ हुन थालेपछि इ–रिक्सा चालकहरू जंगल पस्न थालेका हुन् ।

उनीहरू दैनिक दुई टिप दाउरा ओसार्छन् र ४ हजार रुपैयाँसम्म कमाउँछन् । बजारका होटल व्यवसायी र पाउरोटी कारखानाले एक रिक्सा दाउराको दुई हजारसम्म दिन्छन् । पछिल्लो समय चन्द्रनिगाहपुरमा तीन पाङ्ग्रे सवारी अत्यधिक भित्रिएकाले यात्रु पाउनै हम्मे पर्छ । दिनभर कुद्दा हजार रुपैयाँ पनि कमाइ नहुने चालकहरू बताउँछन् । तीन पाङ्ग्रेको संख्या धेरै भएपछि आम्दानी हवात्तै घटेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इ–रिक्सा इकाई समिति चन्द्रनिगाहपुरका पूर्वअध्यक्ष केदार तिमल्सिनाले बताए । ‘५० वटा इ–रिक्सा भए पुग्ने चन्द्रनिगाहपुर क्षेत्रमा ३ सयभन्दा बढी भइसक्यो,’ उनले भने, ‘दिनभरि थकाइ मारेर बस्नुभन्दा केही साथीहरू जंगलमा दाउरा लिन जानुहुन्छ र यात्रु ओसारेको भन्दा दोब्बर आम्दानी गर्नुहुन्छ ।’

दैनिक २ दर्जन इ–रिक्सा दाउरा लिन जान्छन् । उनीहरू बिहान र बेलुकी राष्ट्रिय वनभित्र प्रवेश गर्छन् । चालकहरूले घरायसी प्रयोजनका लागि भन्दै जंगलबाट दिनहुँ दाउरा ओसार्न थालेपछि पछिल्लो समय वन कार्यालयले कडाइ गर्न थालेको छ । ‘घरायसी हो भन्दै धेरैले व्यवसायजस्तै गर्न थालेकाले कडाइ गरेका छौं,’ जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले भने, ‘दाउराको नाममा काँचो काठ ल्याएको पाइए पक्रेर कारबाही गर्छौं ।’
चन्द्रनिगाहपुरमा सुरुमा पाइडल रिक्साको एकछत्र राज थियो । पछि त्यसलाई विस्थापित गरेर ब्याट्रीबाट चल्ने इ–रिक्सा भित्र्याइयो । दुई वर्षअघिसम्म ५० वटा इ–रिक्सा थिए । अहिले ३ सय ५० को हाराहारीमा छन् । तीमध्ये २ सय ९० वटा मात्र इकाई समितिमा दर्ता छन् ।

धेरै इ–रिक्सा चालकको अनुमतिपत्र (लाइसेन्स) छैन । बिनालाइसेन्स चलाउने चालकलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए । ‘हामीले लाइसेन्सबिना चलाउन पाइँदैन भनेका छौं,’ उनले भने, ‘यातायात कार्यालयमा लाइसेन्स खुलेकै छैन, कसरी बनाउने भनेर प्रश्न गर्छन् ।’

यातायातले अटो टेम्पो भनेर लाइसेन्स दिने गरेको छ । इ–रिक्सा चलाउनेलाई समेत यस्तै अनुमतिपत्र दिइन्छ । ‘यातायात कार्यालयबाट लाइसेन्स खुलाइएको छैन, कसरी बनाउने,’ एक इ–रिक्सा चालक भन्छन्, ‘तीन वर्षअघि खुलेर बन्द भएपछि यातायात कार्यालयले आवेदन मागेकै छैन ।’आजको कान्तिपुरमा खवर छापिएको छ ।