चार दिन देखि रिक्सा चालकहरु आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चार दिन देखि रिक्सा चालकहरु आन्दोलनमा

riksa chalak andolan

तेज बोहोरा

धनगढी, २३ जेठ ।  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा चारदिनदेखि रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । धनगढीमा रहेका विद्युतीय रिक्साहरु बन्द गरेर चालकहरू आन्दोलनमा उत्रिएका हुन् । ईलेक्ट्रोनिक रिक्साको व्यवस्थापन र दर्ता प्रक्रिया सहज बनाउनु पर्ने माग सहित ईलेक्ट्रोनिक रिक्सा चालकहरु आन्दोलित भएका हुन् ।

चार दिनदेखि आन्दोलनरत धनगढीका रिक्सा चालकहरुले प्रदेशको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसमेत घेराउ गरेका छन् । यातायात व्यवस्था कार्यालय सेतीमा दर्ता नभएरै धनगढी बजारमा चलिरहेका रिक्साहरु बन्द गर्नुपर्ने, विद्युतीय रिक्सा दर्ता र नविकरण प्रक्रिया सम्बन्धित नगरपालिका मै हुनुपर्ने र सडक क्षमता अनुसार रिक्सा बजारमा परिचालन गर्नुपर्ने आन्दोलित रिक्सा व्यवसायीहरुको माग छ ।

विद्युतीय रिक्सा बन्द भएपछि धनगढी बजारमा छोटो दुरीका यात्रुहरु मारमा परेका छन् । धनगढीमा बढ्दो गर्मीसंगै बजारमा रिक्साहरु बन्द भएपछि अस्पताल, बिद्यालय र सामान्य कामकाजको लागि बजार निस्कने सर्वसाधारणले ४३ डिग्री तापक्रमका पैदल यात्रा गर्नुपर्ने बाध्यता आएको छ ।

धनगढी उप–महानगरपालिकाले रिक्सा दर्ता प्रक्रिया तत्काललाई रोक्न यातायात व्यवस्था कार्यालय सेतीलाई पत्राचार गरिसकेको जनाएको छ । धनगढी उप–महानरपालिका उपमेयर सुशीला मिश्र भट्टले प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयको लापरबाहीले समस्या उत्पन्न भएको बताउनु भयो ।

यता यातायात व्यवस्था कार्यालय सेतीका प्रमुख गम्भीर सिंह बिष्टले उप महानगरपालिको पत्रले मात्रै रिक्सा दर्ता पक्रिया नरोकिने बताउनु भयो । प्रदेश भौतीक पुर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन नआएसम्म रिक्सावालाले बन्द गरेर समस्या समाधान नहुने बिष्टले बताउनु भयो ।

हालसम्म यातायात व्यवस्था कार्यालय सेतीबाट तीन हजार भन्दाबढी तिनपाङग्रे सवारी साधन दर्ता भईसकेका र जुन धनगढी बजारको सडक क्षमता भन्दा बढी रहेको यातायात व्यवस्था कार्यालय सेतीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);