डाक्टर पनि सडकमा उत्रिएपछि बिरामीको बिजोग ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डाक्टर पनि सडकमा उत्रिएपछि बिरामीको बिजोग !

doctor

काठमाडौं, १८ भदौ । अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन्। चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन्। आकस्मिकबाहेक सेवाहरू ठप्प भएको थाहा पाएलगत्तै रुन थालिन्।

संगीतालाई छोराको ज्यान बचाउने चिन्ता थियो। सिमसिमे पानीमा भिजेकी २१ बर्से रावतले सुँक्सुँकाउँदै भनिन्, ‘छोराको ज्यानको तलमाथि हुन्छ कि भन्ने चिन्ता छ।’संगीताझैं चिन्तित देखिन्थे, धादिङका दीपक गुरुङ। शिक्षण अस्पतालले छोरी दीपिकालाई मुटुको जाँच गराउन गंगालाल हृदयरोग केन्द्र पठाएपछि उनी तनावमा परे। गंगालाल अस्पतालको टिकट काउन्टर बन्द थियो। आपतकालीन कक्षमा पुगेका उनलाई चिकित्सकहरूले इको गर्न सेवा बन्द भएको जनाउँदै फर्काए।

सुस्त देखिएकी छोरीको मुटुको परीक्षण गर्न जाँदा आपतकालीन कक्षका चिकित्सकले जवाफ फर्काए, ‘आज हड्ताल छ, केही गर्न सकिँदैन। अहिले नै मुटु परीक्षण नगर्दा केही बिग्रिदैन कुरा बुझ्नु भा छ नि।’चिकित्सक एवं स्वास्थ्यकर्मीको आन्दोलनका कारण थुप्रै बिरामीहरूले आइतबार सास्ती खेपे । दूरदराजबाट उपचार गर्न राजधानी आएका कति बिरामी अलपत्र परे भने कति होटलमा बसेर उपचार गर्दा बेखर्ची भएको गुनासो गरे।

सरकारी मात्र होइन निजी अस्पतालले पनि अति गम्भीर अवस्थाका बिरामीबाहेक अन्यको भर्ना लिएनन्। मुलुकभरिका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द भए। बिरामीको स्वास्थ्य उपचारको संवेदनशीलतालाई मध्यनजर गर्न त्रिवि शिक्षण अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले चिकित्सक र स्वास्थ्यकर्मीलाई अनुरोध गरिन्। तर, उनको अनुरोधलाई चिकित्सकले टेरेनन्। वन्तले विज्ञप्ति प्रकाशित गरी आफ्नो पेशामा सहभागी भइदिन अनुरोध गरेकी थिइन्। तर चिकित्सकहरू माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);