अधुरा दुई अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अधुरा दुई अनुसन्धान

nepal police

काठमाडौँ, १६ भदौ । प्रहरी अनुसन्धान नटुंगिँदा फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्या प्रकरण रहस्यमै छ । ८० वर्षीय झाको भदौ ४ मा थापाथलीस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या भएको थियो ।

त्यसलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो । घटनाको दुई साता हुनै लाग्दा पनि प्रहरी झा हत्याको कारणबारे निष्कर्षमा पुग्न सकेको छैन ।

महाशाखाले झाको घरमा काम गर्ने माली, भान्से र सुरक्षागार्डलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरूबाट घटनाबारे ठोस सूचना पाउन सकेको छैन । महाशाखाका एक अनुसन्धान अधिकारीले घटना थप रहस्यमयी बन्दै गएको र कारणबारे प्रहरीले अझै ठोस सबुत फेला पार्न नसकेको बताए ।

महाशाखाले घटनास्थलबाट बरामद चक्कुबाट फिंगरप्रिन्ट प्राप्त गर्न सकिने र त्यसैका आधारमा केही निष्कर्षमा पुग्न सकिने आशा गरेको थियो । उक्त चक्कु जाँचका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । घटनास्थलबाहिर दुईवटा पन्जा फेला पारेपछि भने प्रहरी झस्किएको थियो । एक अनुसन्धान अधिकारीका अनुसार अपराधीले पन्जा लगाएर चक्कु प्रहार गरेको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तो भए चक्कुमा फिंगरप्रिन्ट भेटिँदैन ।

प्रहरीका अनुसार माली र सुरक्षागार्डमाथि प्रारम्भिक शंका गरिए पनि उनीहरूको भूमिका प्रस्ट भइसकेको छैन । अपराधको उद्देश्य खुट्याउन नसकिएकाले पनि अपराधी पहिचानमा अप्ठ्यारो भइरहेको महाशाखाको दाबी छ । प्रहरीले पक्राउ गरिएका तीनजनाबाहेक अन्य केही व्यक्तिसँगसमेत बयान लिए पनि नयाँ थप आधार फेला पारिसकेको छैन ।

प्रहरीले गम्भीरताका साथ गरेको भनिए पनि निष्कर्षमा पुग्न नसकेको अर्को अनुसन्धान हो– नेकपाकी सांसद निरु पाललाई बन्दुक देखाएर लुटिएको भनिएको घटना । साउन १५ गते राति ८ बजे बानेश्वरस्थित निवासबाट दूध किन्न निस्केका बेला पाललाई अज्ञात बन्दुकधारीले पेस्तोल देखाएर धम्काएको र मोबाइल लुटेको घटना सार्वजनिक भएको थियो । त्यसबेला प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे संसदीय सुनवाइ समितिमा छलफल चलिरहेको थियो ।

छलफल चलिरहेकै बेला समितिकी सदस्यलाई बन्दुक देखाइएको भन्दै प्रहरी प्रधान कार्यालयले समितिका सबै सदस्यको सुरक्षामा प्रहरी खटायो । घटनाको भोलिपल्टै तत्कालीन प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेल पालको घर पुगेका थिए ।

प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धानमा ८० जना सादा पोसाकका प्रहरी खटिएको थियो । प्रहरीले भोलिपल्टै बानेश्वर क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । एक साताभित्रै परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा घटनाबारे विस्तृत छानबिन गर्न समिति गठन गरियो ।

समितिका प्रमुख एसपी जोशीले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । तर अनुसन्धान कहाँ पुग्यो र के प्रगति भयो भन्नेबारे उनले बताउन चाहेनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);