काठमाडौं, १३ भदौ । उद्योगी, व्यवसायीहरुले मुलुकलाई समृद्ध बनाउन नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई समृद्ध बनाउन नीतिगत सुधारमा जोड दिन सरकारसँग माग गरिन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जथाभावी कर बढाएर निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधि तत्काल बन्द गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
अध्यक्ष राणाले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्र सबल बनाउने कार्यमा सहभागी गराउन स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न पनि संघीय सरकारसँग आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन उद्योगहरुको प्रतिस्पर्धी क्षमताको विकास गर्न सरकारसँग आग्रह गरे । उनले करको सदुपयोग गरेर मुलुकको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकारलाई सुझाव दिए ।
अध्यक्ष शर्माले निजी क्षेत्र मुलुकको समृद्धिका लागि सरकारसँग आवश्यक्त सहकार्य गरेर जान प्रतिवद्ध रहेको उनको भनाई छ ।