काठमाडौं, ११ भदौ । काठमाण्डौको बल्खु स्थित तरकारी बजारका अधिकांश तरकारी विक्रेताले बिल बिजक विना नै तरकारी खरिद तथा विक्रि गर्ने गरेको पाईएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलिले सोमबार बिहान गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो । अधिकांश तरकारी पसल दर्ता छैनन भने तरकारी खरिदको बिल समेत उनीहरुसंग नभएको अनुगमन टोलीले फेला पारेको छ । कानूनको दृष्टिमा अबैध रुपमा संचालन भईरहेका झण्डै ९० प्रतिशत तरकारी बिक्रेतासंग तरकारी खरिदको कुनै पनि किसिमको अभिलेख नरहेको फेला परेको छ ।
तरकारी वजारको अनुगमनका लागि पुगेको टोलीसंग व्यापारीहरुहरुले वजारमा आएको तरकारी विक्रि पछि फोन गरेर तरकारीको मूल्य दिइने कुरा वताएका थिए । तरकारी विक्रेताहरुले कुनै पनि तरकारीको निश्चित मुल्य नहुने दाबी गर्दे एउटै तरकारीको तीन चार थरी मुल्य हुने बताएका छन ।
अनुगमन टोलीले विक्रिको अभिलेख तथा दर्ता विना संचालन भईरहेका तरकारी बजारलाई अबैध बजार भन्ने आँट भने गरेन । अनुगमन टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकिय सचिव सन्तोष विष्टले कानुनले कल्पना गरेको व्यवस्थित बजार नपाईएको प्रतिक्रिया दिए । अनुगमनमा अवरोध श्रृजना गरेको भन्दै एक व्यापारीलाई नियन्त्रणमा लिइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति विभागका निरीक्षक अधिकृत दिपक पोखरेलको नेतृत्वको अनुगमन टोली सोमबार सबेरै ३ बजे बल्खु तरकारी बजार पुगेको थियो । टोलीले साढे ३ बजे देखि बजार अनुमगन सुरु गरेको थियो ।




