काठमाडौं, ६ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भारतीय पक्षले नेपालको सीमावर्ती क्षेत्रमा बाँधेको बाँध भत्काउने प्रस्ताव राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
मंगलबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा बोल्दै नेता गौतमले मिचिएको नेपाली भूमि फिर्ता गर्न भारत बाध्य हुने दावी गरेका छन् ।
उपाध्यक्ष गौतमले भारतको हेपाहा प्रवृत्तिलाई तोड्न देश समृद्ध हुनैपर्ने धारणा राखे । नेपाल आफै समृद्ध नभई भारतको हेपाहा प्रवृत्ति विरुद्ध लडन सक्ने अवस्था नरहेको उल्लेख गरे ।
उपाध्यक्ष गौतमले समृद्धिको अभियान अघि बढाउन सबै विद्यार्थीलाई आह्वान गरेका छन् । उपाध्यक्ष गौतमले भारतले संविधान जारी गर्दा समेत असन्तुष्टि जनाएर नेपालको हित विपरित काम गरिरहेको आरोप लगाए ।