प्रत्येक नेपालीलाई जलविद्युत् मालिक बनाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रत्येक नेपालीलाई जलविद्युत् मालिक बनाउने घोषणा

nea-news

काठमाडौं, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशभरका सबै ५६ लाख घरधुरीलाई तीन हजार पाँच सय मेगावाटका १८ वटा आयोजनाको सेयरधनी बनाउने घोषणा गरेका छन् । यी आयोजनामा सरकारको ५१ प्रतिशत र बाँकी प्रत्येक नेपालीको सेयर रहने गरी सरकारले गृहकार्य गरिरहेको उनले बताए ।

विद्युत् प्राधिकरणको ३३औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यी आयोजनाले दीर्घकालमा प्रत्येक नेपालीलाई बाँच्न पुग्ने बनाउने बताए । ‘हरेक नेपाली नागरिकले आफ्नो ऊर्जाशील समय रोजगारी वा अन्य क्षेत्रमा खर्च गरेर बिताएको भए पनि बृद्धावस्थामा त्यही सेयरमा भएको लगानीलाई निकालेर व्यवहार धान्न सक्छ,’ मन्त्री पुनले भने ।

उनले प्राधिकरणका प्रत्येक कर्मचारीले सेयर पाउने गरी ६० मेगावाटका दुई आयोजना पनि एकसाथ अघि बढाइने घोषणा गरे । कर्मचारीलाई कम्तीमा तीन लाखको सेयर दिएर भविष्यमा यसैले दिएको प्रतिफल उपभोग गर्न सक्ने बनाउने पनि मन्त्री पुनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै नेपालीलाई सेयर पाउने गरी प्राधिकरणको अगुवाईमा सरकारले १८ वटा आयोजना अघि बढाउने अन्तिम गृहकार्य गरिरहेको जानकारी दिए । उनका अनुसार यी आयोजनामा प्राधिकरण र उसका सहायक कम्पनीसहित सरकारी कम्पनीको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ । ‘यो योजना कार्यान्वयनका लागि हामी अन्तिम तयारी गर्दै छौं’, कार्यक्रमपछि घिसिङले योजनाबारे थप प्रस्ट पार्दै अन्नपूर्णसँग भने, ‘यसका सैद्धान्तिक र कानुनी पक्षबारे धितोपत्र बोर्ड, बैंकर्स एसोसिएसनलगायत सम्बद्ध निकायसँग सघन छलफल गरिरहेका छौं ।’

उनका अनुसार तीन करोड नेपालीले सेयर हाल्दा त्यसको व्यवस्थापन र सेयर बाँडफाँटका जटिलताबारे सम्बद्ध निकायसँग निरन्तर छलफल भइरहेको र केही दिनभित्रै कार्यविधि तयार गरिनेछ । उक्त कार्यविधिले नै लगानीदेखि सेयर बाँडफाँटका यावत कुरा समेट्ने घिसिङले बताए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);