सिसडोल भरियो, फोहोर कहाँ फाल्ने ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०७९, बिहीबार

सिसडोल भरियो, फोहोर कहाँ फाल्ने ?

sisdol

सिसडोल, २ भदौ । उपत्यकाको फोहोर फाल्ने स्थान औखरपौवाको सिसडोलमा फोहोर पहाड बनेको छ। दुई वर्षको बनाइएको अस्थायी ल्यान्डफिल साइट सिसडोलमा १३ वर्षसम्म निरन्तर उपत्यकाको काठमाडौं, भक्तपुर र ललिपुरका १८ स्थानीय तहका साथै काभ्रेको बनेपा, धुलिखेल तथा नुवाकोटको समेत फोहोर फाल्दा पहाड बनेको हो।

सिसडोल भरिएपछि अब फोहोर व्यवस्थापन गर्ने स्थानको अभाव भएको छ । काठमाडौं उपत्यकालगायत काभ्रे, नुवाकोटको समेत गरी दैनिक एक हजार मेट्रिक टन फोहोर त्यहाँ आउने गरेको छ। कोल्फु खोलाको किनारामा होचो ठाउँमा बनाइएको सिसडोलको अस्थायी ल्यान्डफिल अहिले पहाड थुप्रो बनेको छ।

नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा सिसडोलमा २०६२ भदौ २२ गतेदेखि दुईतीन वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा १३ वर्षदेखि फोहोर फाल्ने काम भइरहेको छ। उक्त अवधिमा सिसडोलदेखि करिब १ दशमलव ९ किलोमिटर टाढा रहेको बन्चरेडाँडामा पूर्वाधार निर्माण (सडक, पुल, पहुँच मार्ग, लिचेड, व्यवस्थापनलगायत अन्य पूर्वाधार)गरी व्यवस्थापन गर्न तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको फौहोरमैला प्राविधिक सहयोग केन्द्रबाट काम हुँदै आएकोमा २ वर्षदेखि उक्त कार्य बन्द छ।

सरकारले बन्चरेडाँडाका लागि बजेट नदिएपछि दुई वर्षदेखि दीर्घकालीन ल्यान्डफिल साइट बन्ने कार्य रोकिएको महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखाका विभागीय प्रमुख हरिबहादुर कुँवर बताउँछन्। सिसडोल ल्यान्डफिल साइटमा २÷३ वर्षका लागि मात्र फोहोर व्यववस्थापन गर्ने भनिएकोमा बन्चरेडाँडा तयार नभएकाले हालसम्म जबर्जस्ती व्यवस्थापन हुँदै आएको उनले बताए। अब ६ महिनाभन्दा बढी समय उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न असम्भव छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।