काठमाडौं, २ भदौ । केन्द्र सरकारले प्रदेशमा समूहगत रूपमै कर्मचारी खटाउने तयारी गरेको छ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकामा अहिले आएर समूहगत रूपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको हो। प्रदेशमा सचिवस्तरको कर्मचारी खटाउने अधिकार भने केन्द्र आफैले नै राखेको छ।
प्रदेश सरकारमा केन्द्रका सहसचिव नै सचिव हुने प्रावधान छ। प्रदेश मातहत दरबन्दी सिर्जना गरिएका राजपत्रांकित दोस्रो श्रेणी ‘उपसचिव’ र उपसचिवभन्दा मुनिका कर्मचारी अब एकमुष्ठरूपमा प्रदेश सरकारलाई पठाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्मका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
खटाइएका कर्मचारीको अध्ययन र असाधारण बिदाबाहेक अन्य बिदा काज स्वीकृत गर्ने, पुरस्कृत वा विभागीय कारबाही गर्नुपर्ने भए सिफारिस गर्नुपर्नेजस्ता अधिकार प्रदेश प्रमुख सचिवलाई प्रदान गरिएको छ। संगठन संरचनाअनुसार सातवटै प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहनेछन्।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।




