नयाँ मुलुकी ऐन र खेलकुद क्षेत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

नयाँ मुलुकी ऐन र खेलकुद क्षेत्र

काठमाडौं १ भदौ । भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐनले खेलकुद क्षेत्रमा हुने विसंगती र विकृतिलाई पनि दण्डको दायरामा ल्याएको छ । मूलतः खेल क्षेत्रमा मिलेमतोमा हुने म्याच फिक्सिङलाई फौजदारी कसुर मान्दै दण्डको दायरामा ल्याइएको छ ।

राज्यविरुद्धका कसुरमा राष्ट्रहित प्रतिकूल हुने काम गर्न नहुने व्यवस्थामा राज्यको प्रतिनिधिका रुपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुने व्यवस्था ऐनले गरेको छ ।

खेल मिलेमतोमा पहिलोपटक राज्यविरुद्ध अपराध कसुर मानिएको हो । नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले कुनै बाजी जिताउने वा हराउने गरी खेल्न वा खेलाउन हुँदैन भनिएको छ ।

यदि त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसुर भएको मानिने ऐनमा उल्लेख छ । यस्तो कसुरमा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यस्तै यस्तो काम गर्दा कुनै रकम लेनदेन गरेको भएमा सजायका अतिरिक्त लेनदेन गरेको रकम समेत जफत गरिने छ । त्यस्तो कसुर गर्न आदेश वा निर्देशन दिने, उक्साउने वा त्यस्तो कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदार सरह सजाय हुने गरिने छ ।

यस्तै कसुर गर्ने व्यक्ति सार्वजनिक पद धारण गरेको छ वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत गरेको रहेछ भने उक्त व्यक्तिलाई थप तीन वर्षसम्म कैद गरिने छ । मुलुकी अपराध संहिता ऐनको भाग २ मा रहेको फौजदारी कसुरहरु अन्तर्गत परिच्छेद १ मा राज्य विरुद्धका कसुरको व्यवस्था गरिएको छ । उक्त परिच्छेदको दफा ५१ ले राष्ट्रहित प्रतिकूल हुने काम गर्न नहुने उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);