काठमाडौं, २८ साउन । सरकारले सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढाउने सरकारले लक्ष्य लिएकाले त्यसमा सक्रियतापूर्वक साथ दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
उनले निजी क्षेत्रको सहकार्यमा सूचना प्रविधिको विकास गर्न सरकारले चाहेको पनि स्पष्ट पारे । अहिले पनि ६९ वटा गाउँपालिका टेलिफोन नभएको अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने योजना सरकारको रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले सूचना प्रविधिको क्षेत्रको विकासमा सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले आर्थिक समृद्धिका लागि सूचना प्रविधि महत्वपूर्ण अंग भएकाले त्यसको विकासको गतिलाई तीव्रता दिन ढिलाई गर्न नहुनेमा जोड दिइन् । अध्यक्ष राणाले सूचना प्रविधिको लाभ आम जनताले लिउन भन्ने चाहना आफूहरुको पनि रहेको स्पष्ट पारिन् ।