काठमाडौं, २८ साउन । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन नभए भदौ १ देखी देशभर काम ठप्प पार्ने चेतावनी दिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो ।
भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापर्बाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए चिकित्सकलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको संघको भनाइ छ । लापर्बाही भए नभएको विज्ञ समूहले छानबिन गर्नुपर्ने र फौजदारी नभई देवानी कानुन अनुसार कारर्बाही गर्नुपर्ने संघको माग छ ।




