काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा देखिएका समस्याको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषिलगायत सबै क्षेत्रको सुधार गर्दै मुलुकको आर्थिक अवस्था उकास्न सरकार लागिपरेको उनको भनाइ छ । भेटमा स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शिर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको थियो ।
महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौति सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको जानकारी दिईन । उनले प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन आग्रह गरेको जानकारी दिईन ।
पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा लगाएको करले आफुहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।