सरकारद्वारा उत्कृष्ट सामूदायिक वनलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारद्वारा उत्कृष्ट सामूदायिक वनलाई सम्मान

shakti bdr basnet

काठमाडौं, २५ साउन । यस वर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार पाल्पास्थित अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले हात पार्न सफल भएको छ ।

सरकारले प्रदान गर्दै आएको १ लाख नगदसहितको सो पुरस्कार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाल्पास्थित अँधेरी छरछरे सामूदायिक वन उपभोक्ता समूहलाई प्रदान गरेका हुन् ।

सामूदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ७५ हजार राशीको गणेशमान सिंह सामूदायिक वन दोस्रो राष्ट्रिय पुरस्कार अर्घाखाँचीस्थित धिरीखोला सामुदायिक वनलाई दिइएको छ ।

गणेशमान सिंह सामूदायिक वन तेस्रो राष्ट्रिय पुरस्कार भने कपिलबस्तुको विरपुर जनकल्याण सामूदायिक वन उपभोक्ता समितिले प्राप्त गरेको छ ।

त्यसैगरी कवुलियत वन प्रथम राष्ट्रिय पुरस्कार पाँचथरस्थित सितलपोखरी कवुलियति वन समूहलाई प्रदान गरिएको छ । ७५ हजार राशीको सो नगद पुरस्कार पनि मन्त्री बस्नेतले समूहलाई प्रदान गरे ।

त्यसैगरी ७५ हजार राशीको निजी वन प्रथम राष्ट्रिय पुरस्कार झापा गौरादहका दुर्गाप्रसाद प्रसाईले प्राप्त गरे । यस वर्षको साझेदारी वन प्रथम राष्ट्रिय पुरस्कार कपिलबस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ ।

सो पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रहेको छ । सरकारले यस वर्ष सामूदायिक वन पत्रकारिता पुरस्कार पत्रकारद्धय अब्दुल मियाँ र कोकिला भण्डारीलाई प्रदान गरेको छ । दुवैलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले पुरस्कृत व्यक्तिहरुले मुलुकको आर्थिक– सामाजिक रुपान्तरणमा अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ । मन्त्री बस्नेतले सरकारले मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै जाने नीति लिएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);