काठमाडौं, २४ साउन । सर्वोच्च अदालतले आगामी भदौ एक गतेदेखि लागू हुने मुुलुकी अपराध ऐन, मुलुकी फौजदारी ऐन, फौजदारी कसुर ऐन, मुलुकी देवानी ऐन र मुलुक देवानी कार्यविधिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भदौदेखि एकैसाथ देशभर लागू हुने मुलुकी अपराध ऐनसहितको पाँच वटा ऐनको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए ।
बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ऐन (संहिता) हरुको कार्यान्वयनका लागि नियमावली, दिग्दर्शन र निर्देशिकाहरुमा गरिएका व्यवस्थाहरुको सम्बन्धमा गत बुधबारदेखि उच्च अदालत रहेका ७ वटै मुकामहरु र उच्च अदालत अन्तर्गतका इजलास रहेका मुकामहरुमा तत् तत् क्षेत्रका उच्च अदालतका न्यायाधीशहरु, जिल्ला अदालतका न्यायाधीशहरु, रजिष्ट्रारहरु र अधिकृत एवं कर्मचारीहरुलाई समेत सहभागी गराई प्रशिक्षण कार्यक्रमहरु सुरु गरिसकिएको बताए ।
सर्वोच्च अदालतले मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मूलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन,२०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को कार्यान्वयन गर्न छुट्टछुट्टै समिति नै बनाएको थियो ।
प्रवक्ता पोखरेलले ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मान्यतालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।