उद्धारका लागि गोताखोर सहितको टोली काठमाडौंबाट सोलुखुम्बु जाँदै
काठमाडौं, २२ साउन । चार दिनदेखि गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि गोताखोर सहितको टोली काठमाडौबाट सोलुखुम्बु जाने भएको छ ।
बेपत्ताहरुको खोजीका लागी ४ दिन देखिको प्रयास असफल भएपछि काठमाडौंबाट गोताखोर सहितको टोली सोलुखुम्बु जान लागेको हो । काठमाडाैँबाट ५ जनाको गोताखोर सहितको टोली आउन लागेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ ।
गोक्यो भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका तीन विद्यार्थी शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् । भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बेपत्ता हुनेमा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा पेम्बा नुरु शेर्पा र सुनिल बराईली रहेका छन् ।