चीनले चाख्दै छ जोगीभात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चीनले चाख्दै छ जोगीभात

nepali khana

काठमाडौं, २२ साउन । तीन जना नेपाली बालिकाको हात जोडेको फोटोमाथि ‘नमस्कार’ र मुनि ‘प्राकृतिक नेपाल’ लेखिएको ठूलो फ्लेक्स ढोकैमा राखिएको छ ।

दायाँ फन्को मारी भित्र पस्नासाथ अघिल्तिर सेलरोटी, मम, जोगीभात, सिकर्नी, खीर, आलु र तामाको तरकारी, साँधेको गुन्द्रुक, योमरीलगायत नेपाली खानेकुरा देखेपछि चिनियाँहरू छक्क पर्छन् । छक्क किनभने, खानाको परिकारमा धनी मानिने चीनमा उनीहरू नेपाली खानाको नयाँ स्वाद चाख्न खोज्दै छन् । राजधानी बेइजिङस्थित मिन्चु होटलको वातावरण नै नेपालमय छ, संगीतको मधुर धुन सुनिन्छ– ‘चरीमा ज्यानले गुँडैमा लायो लहरे बरैमा बरीलै’ ।
अबको केही दिन यही वातावरण उपलब्ध हुनेछ यो होटलमा ।

बुधबारदेखि सुरु १५ दिने नेपाली खाना महोत्सवको रौनक भिन्न छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६३ औँ वार्षिकोत्सवका अवसरमा बेइजिङस्थित नेपाली दूतावास र चीनको विदेशी मैत्री संस्थाहरूका लागि बेइजिङ संघले संयुक्त रूपमा नेपाली खाना महोत्सवको आयोजना गरेका हुन् । नेपाली खाना महोत्सवका लागि बेइजिङ आएका भान्से (कुक) हरू श्रीराम अधिकारी र सुरेशचन्द्र बस्नेत बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् । अधिकारी नेपाली कुक एसोसिएसनका अध्यक्षसमेत हुन् भने बस्नेत निवर्तमान उपाध्यक्ष हुन् ।

महोत्सव सुरु भएको पाँच दिन भइसकेको छ । खान आउने चिनियाँको संख्या दिन–प्रतिदिन बढिरहेको अधिकारी बताउँछन् । विशेष गरी बेइजिङका सञ्चार माध्यमबाट महोत्सवको समाचार आएपछि नेपालप्रति रुचि राख्ने चिनियाँहरू सोधखोज गर्दै आउने गरेका छन् ।

बेइजिङको थिआन आनमन स्क्वायरदेखि साढे ३ किलोमिटर पश्चिमतिर दोस्रो चक्रपथभित्र पर्ने मिन्चु होटलमा ६ सय ५० कोठा छन् । उक्त होटलमा दैनिक सयौँ चिनियाँले खाना खान्छन् । होटलमा बस्ने पाहुना र बाहिरबाट खान जाने चिनियाँका लागि यति बेला नेपाली खीर र सिकर्नी लोकप्रिय बनेका छन् । छानेको दहीमा काजु, किसमिस, नरिवलका टुक्रा र दालचिनी अथवा सुकुमेलको धुलो मिसाएर बनाइएको सिकर्नी खाइसकेपछि सानो कचौरामा राखेर डेजर्टका रूपमा दिइन्छ ।

खीर र सिकर्नीबाहेक नेपाली खाना महोत्सवमा धेरै चिनियाँले रुचाएको अर्को परिकार हो— जोगीभात । चामलमा विभिन्न सागसब्जीसँगै काजु, किसमिस, नरिवल राखेर यो परिकार पकाइन्छ । त्यसमाथि केसर राखेर पहेँलो बनाइन्छ । जोगीले सिदा माग्दा एउटै पोकामा सबै कुरा हालेर बोक्ने र पछि पकाउँदा एक किसिमको खिचडी हुने भएकाले यस प्रकारको खानेकुरालाई ‘जोगीभात’ नामकरण गरिएको भान्से अधिकारीले जनाए । नेपालमा चाहिँ केसरको ठाउँमा बेसार हालिन्छ तर चिनियाँले बेसार मन नपराउने भएकाले केसर हालिएको उनले स्पष्ट पारे । चिनियाँहरू भात कम खाने गर्छन् । ‘यो होटलमा दैनिक तीन किलो चामलको भात पाक्दो रहेछ,’ अधिकारीले भने, ‘हामीले जोगीभात पकाउन थालेपछि दैनिक १० किलो चामल पाक्न थालेको छ ।’

चिनियाँले मसलेदार खानेकुरा रुचाउँदैनन् । चीनमा च्यांग्रा र भेडाको मासुमा मात्र जिरा हालिन्छ । अधिकांश नेपाली खानेकुरामा जिरा र बेसार हालेको देखेपछि चिनियाँहरू तर्सिएका थिए । त्यसपछि जिरा र बेसार हालेका खानेकुरा पकाउन छोडेको अर्का भान्से बस्नेतले बताए । ‘चिनियाँहरूलाई जिराको बासना र बेसार मन पर्दो रहेनछ,’ उनले भने, ‘पहिलो पटक हामीले त्यस्तो खानेकुरा पकाउँदा अनुहार र शारीरिक हाउभाउले जिरिंग गर्दै तर्सिएका थिए । पछि अंग्रेजी जान्ने कुकले यस्तो त चिनियाँले खाँदैनन् भनेपछि हामीले जिरा र बेसार हाल्न छोडयौँ ।’

महोत्सवमा हरेक दिन दिउँसो र बेलुकाको खानामा नेपाली परिकारहरू राखिन्छन् । शुक्रबार साँझचाहिँ सांगीतिक प्रस्तुतिसँगै प्रत्यक्ष रूपमा नेपाली खानेकुरा पकाएको देखाइन्छ । गत शुक्रबार साँझ अधिकारी र बस्नेतले ‘फापर रोल’ बनाएर प्रदर्शनी गरे । फापरको पिठोमा अन्डा, सागसब्जी र च्याउ राखेर पेनकेक बनाउने र त्यसलाई रोल गरिने भएकाले यसको नाम फापर रोल रहेको बस्नेतले बताए ।

पाँचतारे मिन्चु होटलले नेपाली खाना महोत्सवभरि विशेष छुटमा खाना खुवाउने व्यवस्था गरेको छ । अगस्ट १ देखि १५ सम्म लन्च तथा डिनरको मूल्य १५८ चिनियाँ युआन (करिब २ हजार ५ सय रुपैयाँ) तोकेको छ । अन्य समयमा होटलको मिनुमा लन्च तथा डिनरको मूल्य यसको दोब्बरभन्दा बढी हुने गर्छ । महोत्सवमा खाना खाएर निस्किएकी चु मे नामकी चिनियाँ महिलाले नेपाली खाना निकै मीठो भएको बताइन् । ‘नेपाली खाना महोत्सव भनेपछि निकै धेरै नेपाली खाना होला भन्ने सोचेकी थिएँ,’ कान्तिपुरसँग उनले भनिन्, ‘तर त्यति धेरै परिकार रहेनछन् । मलाई नेपाली खाना निकै मीठो लाग्यो ।’

चिनियाँ परिकार सयौँ प्रकारका हुने गर्छन् । एउटा पाँचतारे होटलमा सामान्य लन्च र डिनरमै दर्जनौँ खानेकुरा राखिएका हुन्छन् । खानेकुरामा समृद्ध चिनियाँले नेपाली खाना महोत्सवमा पनि यस्तै धेरै प्रकारका खानेकुरा होलान् भन्ने सोच्नु अस्वाभाविक होइन । तथापि मिन्चु होटलमा राखिएका दाल, भात, तरकारी, फापरको रोटी, हाँसको छोइला, चुकाउनी, सिकर्नी, खीर, क्वाँटी, गुन्द्रुक, आलु र काउलीको तरकारी आदिले थुप्रै चिनियाँको मन जितेका छन् । यसले नेपालको संस्कृति र पर्यटन प्रवद्र्धनमा केही इँटा थप्ने आशा गरेको नेपाली दूतावासका काउन्सिलर हरिश्चन्द्र घिमिरे बताउँछन् । कान्तिपुरबाट

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);