काठमाडौं, २० साउन । नेपाल पत्रकार महासंघले साईबर क्राईमलाई पत्रकारहरु तर्साउने माध्यामको रुपमा प्रयोग नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साईबर क्राईमको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन महासंघ सचेत रहेको बताएका छन् ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले साईबर क्राईम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषय नभएकाले यसलाई पत्रकारहरुसँग जोडेर हेर्न नमिल्ने बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले अनुसन्धानबाट पुष्टि नभई साईबर क्राईम अन्तरगत कसैलाई पनि कार्वाही नहुने स्पष्ट पारे । नेपाल प्रहरीसँग हाल १ हजार १ सय ९७ वटा साईबर क्राईम सम्बन्धि उजुरी दर्ता भएको र ती सबै उजुरीमाथि प्रमाण पुर्याएर मात्रै कार्वाही प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले जनाइएको छ ।