श्रवण देउवा
कैलाली, १९ साउन । भारतसँगको खुला सीमानाका कारण अपराधिक क्रियाकलाप न्युनिकरण गर्न समस्या भएको छ । खुला सीमाका कारण भारतीय लुटेराहरुले नेपाली भूमीमा आई लुटपाट मच्चाउँदा सीमाबासीले हैरानी बेहोर्नुपरेको छ । कैलालीको धनगढी उपमहानगरपालीकाको सीमा क्षेत्र बंग्रा कटानमा घरायसी सामानसमेत चोरी हुनथालेपछि स्थानीय समस्यामा परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित बंग्रा कटान क्षेत्रका स्थानीय राम्रोसँग सुत्न पनि पाएका छैनन् । हरेक दिन जसो चोरी डकैती हुन थालेपछि उनीहरु हैरान भएका छन् । विगत देखिनै यस्ता समस्या भोग्दै आएका बंग्रा कटानबासी पछिल्लो समय अपराधिक क्रियाकलाप बढ्दै जाँदा थप पीडामा छन् । भारतबाट आउने लुटेराहरुले चोरी डकैती, लुटपाट, कुटपिट गर्नेगरेको स्थानीयको भनाइ छ ।
लुटेराहरुले रातिको समयमा घरमा राखिएको साईकल, मोटर साईकल, पानी तान्ने मोटर, पशुचौपायालगायत घरायसी सामानसमेत चोर्ने गरेका छन् । यति मात्र नभई अपराधिक समुहले लुटपात, कुटपिटसमेत गर्न थालेपछि स्थानीयले अुसरक्षित महसुस गरेका छन् ।
सीमा क्षेत्रमा अपराधिक क्रियाकलाप बढेकोमा प्रहरी पनि बेखबर छैन । तर, जनशक्ति अभावका कारण यस्ता घटना नियन्त्रण गर्न समस्या भएको प्रहरीको भनाइ छ । तथापी सीमा क्षेत्रमा हुने अपराध न्यूनिकरणका लागि प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।
खुला सीमानाका कारण चोरीडकैती, लागुपदार्थ ओसारपोसार, लुटपाट, अवैध ओसारपोसार, मानव बेचबिखन, जस्ता घटना हुने गरेका छन् । जसका कारण सुरक्षा चुनौति त थपिएको छ नै सीमा क्षेत्रमा बस्ने नेपालीले सँधै सास्ती बेहोर्नु परेको छ । सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्न सम्बन्धित निकाय सचेत हुन जरुरी छ ।