काठमाडौं, १८ साउन । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै छ ।
अघिल्लो बिहीबार संसदीय सुनुवाई सकिएपनि जोशीका विषयमा विभिन्न विवाद रहेकाले थप छलफल आवश्यकता भएको भन्दै निर्णय हुन सकेको छैन । गत शुक्रबार, आइतबार र सोमबार समितिको बैठक स्थगित भएको थियो । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले संसदीय प्रक्रिया अनुसार जोशीको अनुमोदन गर्ने वा नगर्ने अधिकार समितिमा भएको बताए । सुनुवाईका क्रममा सांसदहरु जोशीका केही फैसला देखि व्यक्तिगत विषयमासमेत प्रश्न उठाएका थिए ।
जोशीको शैक्षिक प्रमाणपत्रमा समेत विवाद देखिएको छ । यसअघि सुनुवाई सकिएकै दिन निर्णय आउने गरेकोमा जोशीको हकमा यस्तो हुन सकेन । जोशीको विषयमा देखिएको विवाद समाधानका लागि विज्ञ समुह बोलाउने वा नबोलाउने भन्नेमा पनि समितिमा विवाद देखिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरु जोशीलाई अनुमोदन नगर्ने पक्षमा देखिएका छन् ।
संसदीय सुनुवाई विशेष समितिका सदस्यमाथि सुरक्षा चुनौति थपिएको भन्दै नीजि सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । समिति सदस्य निरुदेवी पालमाथि आक्रमणको चेतावनी दिइएपछि सुनुवाई थप पेचिलो बनेको छ ।




