काठमाडौं, १३ साउन । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई प्रक्रियाको आज निर्णय हुने भएको छ ।
गत बिहीबार संसदीय सुनुवाई सकिएपनि जोशीका विषयमा विभिन्न विवाद रहेकाले थप छलफल आवश्यकता भएको भन्दै निर्णय गरिएको थिएन । शुक्रबारका लागि बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक आज सम्मका लागि स्थगित भएको थियो । सुनुवाईका क्रममा सांसदहरु जोशीका केही फैसला देखि व्यक्तिगत विषयमासमेत प्रश्न उठाएका थिए । जोशीको शैक्षिक प्रमाणपत्रमा समेत विवाद देखिएको छ ।
यसअघि सुनुवाई सकिएकै दिन निर्णय आउने गरेकोमा जोशीको हकमा यस्तो हुन सकेन । आज बस्ने सुनुवाई समितिको बैठकले उनको नाम अनुमोदन गर्ने वा रद्द गर्ने निर्णय गर्ने छ । आजको बैठकमा थप छलफल पछि अनुमोदन हुने सम्भावना रहेको बताइएको छ । तर जोशीको विषयमा देखिएको ववाद समाधानका लागि विज्ञ समुह बोलाउने वा नबोलाउने भन्नेमा समितिमा विवाद छ ।




