किन बढ्दै छन् संवेदनाहीन घटना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

किन बढ्दै छन् संवेदनाहीन घटना

murder rape

काठमाडौं, १५ साउन । गत बिहीबार कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।

साथी रोशनी बमको घरमा गृहकार्य गरेर फर्केकी उनलाई कसले बलात्कार गरेर हत्या गरे त्यो रहस्यमै छ । संसद्मा यो विषयले प्रवेश पाएसँगै सभामुख कृष्णबहादुर महराले सरकारसँग जवाफ मागेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिसकेको छ ।

साउन ८ गते कैलाली भजनी नगरपालिकाकी निर्मला राजीले प्रेमीसँग मिलेर पति नन्दु राजीको हत्या गरिनन् । प्रेमी दिलिप राजीसँग मिलेर नन्दुको हत्या गरेर शव बोरामा राखी सामुदायिक वनमा गाडेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । परपुरुषसँग सम्बन्ध कायम राखेको आरोपमा नन्दुले पत्नी निर्मलालाई कुटपिट गरेका थिए । नन्दुको हत्या गरेपछि प्रेमी दिलिपसँग आनन्दले जीवन जीउने आशमा निर्मलाले हत्या योजना बनाएकी प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

साउन ४ गते इलाम सूर्योदय नगरपालिकाका केशरबहादुर मोक्तान पत्नी मनमाया हत्या आरोपमा पक्राउ परे । ५१ वर्षीया मनमायाको कालगतिले मृत्यु भएको बताए पनि केशरबहादुरले बाँसको लाठीले मरणासन्न हुनेगरी कुटपिट गरेका कारण मृत्यु भएको रहस्य खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियोे ।

बारा जीतपुरका ब्यापारी ललन गुप्ताका ९ वर्षीय छोरा अंकितको अपहरणकारी गिरोहले ६४ लाख फिरौति लिएर हत्या गरे । हत्याको रहस्य साउन ८ गते मात्रै खुल्यो । भारत पुगेर फिरौति बुझाएका गुप्ताले पैसा त गुमाए नै आफ्नो सन्तान समेत गुुमाए । योजनाबद्ध ढंगले अंकितको अपहरण गरिएका अंकितको हत्या होला भन्ने सोचेका थिएनन गुप्ता परिवारले।

साउनमा दुईसाताका बीचमा भएका यी चारवटा घटनाले समाज संवेदनहीन हुँदै गएको पुष्टी हुन्छ । प्रहरीकै तथ्यांक हेर्ने हो भने २०७३ को तुलनामा २०७४ मा जघन्य प्रकृतिका घटना बढेका छन् । प्रहरी मुख्यालयले गम्भीर प्रकृतिका अपराधमा खुन डाँका, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागुऔषध, व्यक्ति अपहरण, हातहतियार, मानव वेचविखन, बलात्कार र विष्फोटक पदार्थ ओसारपसारलाई लिएको छ । आर्थिक वर्ष आव २०७३/०७४ मा कुल पाँच हजार चार सय ४५ वटा घटना भएकोमा आव २०७४/०७५ मा बढेर ६ हजार ६ सय ४६ वटा घटना भएका छन् ।

जसअनुसार आर्थिक वर्ष २०७३/०७४ मा बलात्कारका एक हजार एक सय ३७ वटा घटना भएकोमा २०७४/२०७५ मा तीन सय ४३ वटा घटना बढेर एक हजार चार सय ८० वटा भएका थिए । यी दुई आर्थिक वर्षमा तुलनात्मक रुपमा अपहरणका घटना पनि बढेको देखिन्छ । आव २०७३/०७४ मा ५७ वटा अपहरणका घटना भएकोमा २०७४/०७५ मा ७७ वटा पुगेको छ । व्यक्ति हत्याका घटना पनि बढेका छन्।

प्रहरी मुख्यालयका अनुसार आव २०७३/०७४ मा ६ सय १६ वटा व्यक्ति हत्या भएका थिए । आव २०७४/०७५ मा बढेर ६ सय २८ पुगेको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले समाज संवेदनहीन हुँदै गएको विभिन्न घटनाले पुष्टी गरेको बताउँछन्। ‘संवेदनाको सिधा सम्बन्ध व्यक्तिको मानसिक स्थितिसँग जोडिएको हुन्छ’, क्षेत्रीले अन्नपूर्णसँग भने, ‘सबै व्यक्तिको मानसिक स्थिति एउटै हुँदैन । परिवर्तनशील हुने भएकाले अधिकांश घटना आवेशप्रतिर देखिन्छन् ।’

उनले बढ्दो सामाजिक सञ्चालको प्रयोग दुरुपयोग हुनथालेपछि पनि संवेदनहीन घटना बढेको बताए । क्षेत्रीले कतिपय अवस्थामा व्यक्तिको गोपनीयता भंग हुने भएपछि पनि श्रीमानले श्रीमति र श्रीमतिले श्रीमान्को हत्या गर्ने घटना भएको बताए । यस्ता घटना सम्बन्धमा तिक्तता आउने र अपूर्ण सम्बन्धका कारण खपिनसक्नु भएपछि आवेशमा आएर श्रीमान श्रीमतिबीच कुटपिट हुने गरेको । बलात्कारका घटनामा वृद्धि देखिएकोमा उनले टिप्पणी गरे ।

उनले भने, ‘ बलात्कारका घटना अहिले सार्वजनिक हुन थालेका छन् । पहिला लाजले र वेइज्यत हुेन डरले छिपाउँदै आएको तर अहिले चेतनाको स्तर केही बढेकाले पनि घटना प्रहरीमा रिर्पोट हुन थालेको हो ।’प्रहरीले अपराध नियन्त्रणमा जनचेतनासँगै अभियुक्तलाई कानुनी कठघरामा ल्याईरहेको जानकारी क्षेत्रीले दिए । मनोविद् डा.अनिता तामाङ क्षणिक आवेगमा संवेदनहीन घटना हुने गरेको बताउँछिन् । संवेदनहीन घटना हुनुमा चेतनाको स्तरमा कमी, क्षणिक आवश्यकता पूर्ति नहनु, अविश्वास, आवेग, संवादहीनलगायतका कारणले हुँदै आएको ठम्याइ तामाङको छ ।

‘संवेदनहीन घटना शिक्षित समाजमा पनि भएका छन् । समाज परिवर्तनशील नभएसम्म यस्ता घटना रोकिंदैनन्,’ तामाङले अन्नपूर्णसँग भनिन्,‘ श्रीमान श्रीमतिबीच अविश्वास पैदा भएपछि हत्यासम्मका घटना भएका देखिन्छन् । यस्ता घटना प्राय आवेगमा गर्ने र पछि पछुताउने धेरै देखिन्छन् ।’

परिवार भित्रका सदस्यमा आवश्यकता दिनदिनै बढ्दै गएको तर अभिभावकले समयमै नसोच्दा अकल्पनीय घटना हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);