जुम्लामा गोली लागेको भनिएका प्रहरी देखेर डाक्टर छक्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुम्लामा गोली लागेको भनिएका प्रहरी देखेर डाक्टर छक्क

police goli jumla

काठमाडौं, १५ साउन । डा. गोविन्द केसी जुम्लामा अनशन बसेको २०औं दिन । साउन ३ गते मध्याह्न  जब देशभरका सञ्चारमाध्यममा करिब एकै समयमा, एकै किसिमको ब्रेकिङ न्युज सार्वजनिक भयो जुम्लामा डा. केसी पक्षधर र प्रहरीबीचको झडपमा गोली लागी एक प्रहरीको मृत्यु भयो ।

त्यो एक कान, दुई कान मैदान हुँदै सबैतिर केही मिनेटमै फैलियो पनि । उक्त समाचार पछि प्रहरी जवानको छातीमा चिर्पट लागेको र सिसाका टुक्रा गढेको भन्दै प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति नै जारी गर्‍यो । यद्यपि, सोही दिन दिउँसो जुम्ला प्रहरी प्रमुख डीएसपी तपनकुमार दाहालले प्रहरी जवानको ज्यान गएको माइकिङ गरेका थिए ।

उक्त समाचार काठमाडौंका मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका चिकित्सक सबैले सुनेका थिए ।तर उनीहरू त्यतिबेला अचम्ममा परे, जब काठमाडौंमा आफ्नै अघि घाइते एवं चिन्ताजनक अवस्थामा रहेको भनिएका कमल आचार्यलाई सामान्य अवस्थामा भेटे । त्यसैले आफ्नो जिज्ञासा शमन गर्न उनीहरूले तत्कालै प्रहरी जवानको छातीको एक्सरे गरे । तर केही देखिएन । न सिसाका टुक्रा उनीहरूले देखे, न छातीमै देखियो चिर्पटको दाग । अनि उनीहरूलाई लाग्यो यो सबै प्रोपोगान्डा पो रहेछ ।

‘प्रहरीको विज्ञप्ति र सञ्चारमाध्यमहरूले प्रहरी जवान आचार्यको अवस्था चिन्ताजनक भन्दै समाचार प्रवाह गरेको देखेका हामी अहिले आश्चर्यमा छौं’, नाम नबताउने सर्तमा मनमोहन कार्डियोथोरासिकका एक सर्जनले भने । जुम्लामा अनशनरत डा. केसीलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न प्रहरीले यस्तो घटनाको परिकल्पना गरेको हुन सक्ने उनको आशंका छ ।
प्रहरी जवान आचार्यको छातीमा सिसाको टुक्रा रहेको र चिर्पट प्रहार गरिएको विषयमा आफू पूर्ण रूपमा जानकार नभएको यसअघि विज्ञप्ति प्रकाशन गरेका एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

‘प्रहरी जवानको छातीमा के थियो भन्नेबारे मैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल प्रहरी अस्पताल, काठमाडौंमा कार्यरत चिकित्सकसँग बुझें । तर डाक्टरले यस विषयमा केही जानकारी दिएका छैनन्’, उनले भने, ‘मैले यत्ति थाहा पाएको छु, उनलाई गोली लागेको थिएन ।’ यस विषयमा आफूले गहन अध्ययन नगरेको उनको भनाइ छ ।

मनमोहन कार्डियोथोरासिक सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले पनि प्रहरी जवानको अवस्थाबारे बताउन चाहेनन् । उनले यति मात्रै भने, ‘प्रहरी जवान डिस्चार्ज भइसकेका छन् ।’

जुम्लाबाट गम्भीर घाइते भन्दै ल्याइएका आचार्यलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ‘छातीमा पाइप (ट्युब) हालिएको थियो । श्वासप्रश्वासका लागि इन्डोट्र्याकियल ट्युबबाट भेन्टिलेटरको सहयोगसमेत लिइएको थियो । तर यहाँ भर्ना गर्दा अवस्था स्थिर थियो’, सेन्टरका अर्का चिकित्सकले भने ।

घटनाको समयमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि प्रतिष्ठानभित्र गोली नचलेको, तर प्रहरी जवान आचार्यको छातीमा पाँच इन्चको काँटी गडेको सञ्चारकर्मीलाई जानकारी गराएका थिए । त्यतिखेर गरिएको एक्सरे रिपोर्टमा भने छातीमा गोली जस्तै वस्तु देखिएको प्रतिष्ठानका डाक्टरहरूले दाबी गरेका थिए ।

त्यति मात्र होइन, प्रहरी जवान आचार्यको अवस्था चिन्ताजनक रहेको भन्दै जीवनरक्षाका लागि १२ पिन्ट रगतसमेत संकलन गरिएको अन्नपूर्णका जुम्ला संवाददाता नन्दराम जैसीको भनाइ छ ।

यता काठमाडौंस्थित सेन्टरमा गरिएको छातीको एक्सरे भने सफा देखिएको स्रोतको दाबी छ । ‘जुम्लामा गरिएको एक्सरे शरीरभित्र भन्दा पनि बाहिरबाट गरिएको एउटा आर्टिफेक्ट थियो’, सेन्टरका एक सर्जनले भने ।

घटनाका प्रत्यक्षदर्शी विशद दाहालले भने प्रहरीले ‘हाम्रा एक साथीको मृत्यु भइसकेको छ, अब हामी फायर खोल्छौं, १० मिनेटभित्र तयार हुनुहोस्’ भनेर तर्साएपछि डा केसी काठमाडौं आउन राजी भएको दाबी गरेका छन् । ‘सबैलाई झुक्याएर र तर्साएर डा. केसीलाई काठमाडौं ल्याइएको हो’, उनले भने । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);