विवशकुमार सेजुवाल
कालिकोट, १४ साउन । कालिकोटको पलाता गाउँपालिकाको कालिका माध्यामिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको पाइएको छ । भवन बनाउने कामदारले समेत ज्याला नपाएको गुनासो गरेका छन् । अनियमितता भएको विषयमा गाउँपालिकाले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ ।
कालिकोटको पलाता गाउँपालिकाको कालिका माध्यामिक विद्यालयको भवन निर्माणको क्रममा ३६ लाख रकम मध्ये १८ लाखको नक्कली बिल पेश गरेको पाइएको हो । विद्यालयको एक तला भवन निर्माण गरिएको बिल बनाए पनि भवन निर्माण नै भएको छैन ।
स्थानीयले पलाता गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले अनियमितिता गरेको आरोप लगाएका छन् । पलाता गाउँपालिकाले अनियमितता भएको विषयमा छानबिन गरेर अनियमितता भएको रकम असुल गर्ने बताएको छ ।
कामदारले काम गरेको एक बर्ष बितिसक्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् । स्थानीयले अनियमितताको विषयमा छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।