दार्जिलिङको प्रहरी चौकीमा आक्रमण, एक प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

दार्जिलिङ, ५ भदौ । दार्जिलिङमा शनिबार राति विस्फोट भएको छ । त्यसलगत्तै कालिङपोङको एक प्रहरी चौकीमा ग्रिनेट विस्फोट हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । अन्य केही प्रहरी घाइते भएका छन् । छुट्टै गोर्खाल्यान्डको माग राखेर दुई महिनादेखि चलिरहेको अनिश्चितकालीन आन्दोलनका क्रममा पहिलोपटक यहाँ विस्फोट भएको हो।

 

प्रहरी अधिकारीका अनुसार शनिबार राति करिब ११ बजे अज्ञात समूहले ग्रिनेट प्रहरी चौकीलाई लक्षित गरी प्रहार गरेका थिए । दार्जिलिङका प्रहरी महानिरीक्षक मनोज बर्माका अनुसार प्रहरीचौकीमा ग्रिनेट विस्फोट हुँदा एक जवानको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । विस्फोटसँगै सुरक्षाकर्मीले सो क्षेत्रलाई नियन्त्रणमा लिएर खोजतलास सुरु गरेका छन् । दार्जिलिङमा शक्तिशाली विस्फोट भएकै दिन ग्रिनेट हमला भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

 

दार्जिलिङको चोकबजार क्षेत्रमा पुलिस स्टेसनको २ सय मिटरको दूरीमा रहेको मोटर स्ट्यान्डमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटमा गोरखा जनमुक्ति मोर्चाको हात रहेको प्रहरीले आरोप लगाएको छ । दार्जिलिङका अतिरिक्त महानिर्देशक (कानुन व्यवस्था) अनुज शर्माले गोजमोका अध्यक्ष विमल गुरुङसहित चार नेताविरुद्ध मुद्दा दर्ता गरिएको बताएका छन् । उनले घटनाको छानबिन सुरु भएको र फरेन्सिक जाँचका लागि टोली त्यता पठाइएको छ।

 

यद्यपि यस आरोपलाई गोजमोले खारेज गर्दै गोर्खाल्यान्ड आन्दोलनलाई दबाउन प्रहरीले नै चाल चलेको आरोप लगाएको छ । गाजमोका अध्यक्ष विमल गुरुङले आरोप कपोलकल्पित भएको र आधारहीन भएको बताएका छन् । गोर्खाल्यान्ड नचाहनेहरूले आन्दोलनलाई निस्तेज पार्न लागिएको कदम भएको उनले दाबी गरेका छन् । उनले राष्ट्रिय अनुसन्धान संस्थाको संलग्नता तथा सर्वोच्च अदालतको निगरानीमा एक छानबिन समिति निर्माण गर्न गृहमन्त्री राजनाथ सिंहसँग आग्रह गरेका छन् । गुरुङले गृहमन्त्री सिंहलाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् ।

 

उनले अनुसन्धान नै सुरु नभई एफआईआर दर्ता भएको भन्दै आन्दोलनलाई बदनाम गराउने नियतले सरकारले नै विस्फोट गराएको हुन सक्ने बताएका छन् । शुक्रबार भएको विस्फोटमा त्यस क्षेत्रका पसलहरूमा क्षति पुगेका छ । घटनामा कुनै मानवीय क्षति नभए पनि सर्वसाधारणमा त्रास फैलिएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);