काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी ओलीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताएका छन् । उनले सरकार राष्ट्रिय हितप्रति सचेत रहेको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय दायित्व सहितको राष्ट्रवादका पक्षमा आफू रहेको बताए ।
प्रधानमन्त्री ओलीले सामाजिक सदभाव सहितको मुलुकको समृद्धि सबैको साझा अभियान भएको बताए । बिहीबार ललितपुरमा आयोजित नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका प्रशिक्षित अधिकृतहरुलाई दीक्षित गर्दै उनले विविधतायुक्त नेपाली समाजलाई एकतावद्ध बनाएर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको बताए ।
प्रधानमन्त्री ओलीले दीक्षित अधिकृतहरुलाई जनताको सेवक हुँ भन्ने भावका साथ काम गर्न आग्रह गरे । नेल्सन मण्डेला जस्तै सम्मानित हुने गरी काम गर्न पनि दीक्षित अधिकृतहरुलाई सचेत गराए । प्रधानमन्त्री ओलीले हरेक कर्मचारीहरुलाई स्वच्छ भावका साथ देश निर्माणको अभियानमा जुटन पनि आह्वान गरे ।




