काठमाडौं, ५ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले दुई तिहाईको दम्भमा सरकार राणाशासन कालको भन्दा बढी निरंकुश बन्दै गएको बताएका छन् ।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता यादवले सरकारले जनतालाई सेवा सुविधा दिनुको सट्टा राणा शासनमा भन्दा बढी निरंकुश बन्दै जनतामाथि करको भार थप्ने काम गरेको बताए ।
सरकारलाई समर्थन गरेर पनि आफुहरुले राज्यको अनुभुति गर्न नसकेको भन्दै उनले सर्वसाधरणको दैनीकि प्रति सरकार जिम्मेवार बन्न नसकेको टिप्पणी गरे । तराईका जिल्लामा उखु किसानको १० अरब रुपैयाँ अझै पनि उखु मिल संञ्चालकले नदिएको भन्दै उनले त्यसतर्फ सरकार गम्भीर बन्न नसकेको गुनासो गरे ।
सरकार आफैले गरेको प्रतिवद्धता पुरा गर्न असक्षम भएको उनले टिप्पणी गरे । सिण्डिकेटको अन्त्य , ठेगेदारलाई कारवाही तथा संविधान संसोधनका लागि आफुहरुसंग गरेको सहमति पुरा गर्नबाट सरकार पछि हटेको उनको तर्क थियो ।
सहमति अनुसार अझै पनि आफ्ना नेता तथा कार्यकर्ताहरु रिहाई नभएको, मुद्दा फिर्ता गर्ने काम नभएको तथा विभिन्न समयमा भएका मधेस आन्दोलनका प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै उनले सरकारप्रति असन्तुष्ठी जनाए । उनले वर्तमान अवस्थामा सरकार भन्दा पनि मुद्दाको सम्बोधन आफुहरुको प्राथमिकतामा रहेको बताए ।